अमरराज नहर्की
तनहुँ, वैशाख २७ गते । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशद्वारा दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले राज्यले व्यवसायीलाई केवल ‘करको स्रोत’ का रूपमा मात्र नहेरी लगानीको सुरक्षा र पूर्वाधार विकासमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनीहरूले भरपर्दो विद्युत् सेवा, शान्ति सुरक्षा तथा एकद्वार कर प्रणाली लागू नभएसम्म लगानीको वातावरण नबन्ने बताएका हुन् ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले राज्य र निजी क्षेत्रबिचको सम्बन्ध सुदृढ बनाउन हालका जटिल कानुन बाधक बनेको बताउनुभयो । सरकार र निजी क्षेत्रबिचको कानुनी खाडल नपुरिएसम्म आर्थिक समृद्धि सम्भव नहुने उहाँको भनाइ थियो ।
संघका निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्रले व्यावसायिक संस्थाको सहकार्यबिना उद्योग दर्ता तथा खारेजी गर्दा राज्यसँग व्यवसायीको तथ्याङ्क नमिल्ने र यसले दूरी बढाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार ९६ प्रतिशत व्यवसायी अझै संघीय संयन्त्रभन्दा बाहिर रहेकाले उनीहरूलाई प्रणालीमा ल्याउन राज्यले निजी क्षेत्रलाई साथमा लिनुपर्ने आवश्यकता रहेको छ ।
लगानीको वातावरण बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संघका वरिष्ठ उपाध्यक्ष सुवोध अधिकारीले व्यवसायी पलायन हुने अवस्था सिर्जना भइरहेको बताउनुभयो । उहाँले औद्योगिक सुरक्षा कानुन तथा दर्तादेखि कर भुक्तानीसम्मको सरल ‘एकद्वार प्रणाली’ तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार र सुरक्षाको सुनिश्चितता भए मात्र स्वदेशी पूँजी विदेशिनबाट जोगिने उहाँको भनाइ थियो ।
घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष प्रकाश हड्खलेले प्राकृतिक स्रोतमा आधारित उद्योगको ढुवानी तथा दर्तामा रहेका कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिनुभयो ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजले सुनमा उच्च कर लाग्दा मूल्य बढेको र त्यसले ग्राहक घटेकाले व्यवसाय प्रभावित भएको बताउनुभयो । व्यवसायीहरूले जरिवानाको विलम्ब शुल्कमा सहुलियत दिन पनि माग गरेका थिए ।
च्याम्बर अफ कमर्सका प्रतिनिधि कविराज श्रेष्ठले पहुँच र शक्तिको आधारमा करको भार निर्धारण हुने ‘सेटिङ’ संस्कृतिले इमानदार व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो ।
व्यवसायीका जिज्ञासाको जवाफ दिँदै मन्त्रालयका उपसचिव महराज ढकाल र टिकाराम पौडेलले निजी क्षेत्रको उत्साह कायम राख्न नीतिगत सुधार गरिने आश्वासन दिनुभयो ।
पर्यटन विकास कार्यालयका प्रमुख ईश्वरीप्रसाद शर्माले पूर्वाधार र बिजुलीजस्ता आधारभूत आवश्यकता पूरा गर्दै पर्यटन र उद्योगलाई जोड्न मन्त्रालयले समन्वय गर्ने बताउनुभयो । दमौलीमा शुक्रबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रम अन्य जिल्लामा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।