रमेश विश्वकर्मा
गुल्मी, वैशाख २७ गते। गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। चन्द्रकोट क्याम्पसको खुला स्थानमा सञ्चालन हुन लागेको ‘चौथो अध्यक्ष कप’ अन्तर्गत यस गाउँपालिकाले आगामी जेठ ५ र ६ गते ‘वडा स्तरीय चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो।
खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरूमा रहेको खेल प्रतिभा उजागर गर्नुका साथै भलिबल खेलको विकास तथा विस्तारसँगै नया खेलाडी पहिचान गर्ने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चालिसेले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८२(०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुन लागेको यस प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका खेलहरू हुनेछन्। पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार रुपियाँ, द्वितीय हुनलाई ४० हजार रुपियाँ, तृतीय हुनेलाई ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।
त्यसैगरी महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार रुपियाँ, द्वितीय हुनलाई २५ हजार रुपियाँ, तृतीय हुनेलाई १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत रूपमा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिबेरो र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ। खेल एफआईभिबी र एनभिएको नियम अनुसार नकआउटको आधारमा टिटि सिस्टमबाट खेलाइनेछ।
प्रत्येक खेलाडीहरुले आफ्नो वडाको नाम अङ्कित खेलाडी पोसाक लगाउनुपर्नेछ। प्रत्येक समूहमा आठ जना खेलाडी एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्नेछ। खेलाडीहरु सम्बन्धीत वडाको स्थायी बासिन्दा हुनुपर्नेछ। खेलाडीले आफ्नो परिचय खुल्ने कागजात लिनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन चाहने समूहले जेठ १ गते बेलुका ५ बजेभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा समूह दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ताका लागि कुनै शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ।