कैलाली समाचारदाता
धनगढी, वैशाख २७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनसम्बन्धी बहस अब समाप्त भएको बताउनुभएको छ ।
धनगढीमा शनिबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र अब विशेष महाधिवेशन पक्ष वा विपक्ष भन्ने विभाजनको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो । अग्रज नेताको अनुभव र युवाको ऊर्जालाई समेटेर कांग्रेसलाई अघि बढाइने उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले शेरबहादुर देउवासहित कांग्रेसका पूर्वनेतृत्वको योगदान स्मरण गर्दै पार्टीमा सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
सभापति थापाले नेतृत्वले सबैलाई सम्मान गर्ने उल्लेख गर्दै पार्टीभित्र आपसी अविश्वास र गुटगत सोच अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘अब कांग्रेसभित्र को कता थियो भन्ने होइन, सबै मिलेर कसरी अघि बढ्ने भन्ने विषय मुख्य हो’’
उहाँले भन्नुभयो । सत्ता सहकार्यका विषयमा बोल्दै सभापति थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको वर्तमान सहकार्य तत्काल नटुट्ने सङ्केत गर्नुभयो । अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेबाहेक वैकल्पिक सरकार बन्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र बजेटका विषयमा एमाले नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताउनुभयो ।
पार्टीभित्रको अनुशासनका विषयमा सभापति थापाले कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका उम्मेदवारविरुद्ध गतिविधि गर्न नहुने बताउनुभयो । भूमिहीन तथा सुकुमवासी समस्याप्रति पनि राज्य संवेदनशील हुनुपर्नेमा सभापति थापाले जोड दिनुभयो । यसैबिच उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अग्रज नेताहरूलाई साथमै लिएर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ नेतृत्वले कसैप्रति पूर्वाग्रह नराख्ने विश्वास दिलाउछु, उहाँले बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीभित्र देखिएका आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस तथा नेतृत्वप्रति उठेका प्रश्न बारे खुला छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय शेरबहादुर देउवामाथि भएका टिप्पणी र टिकट वितरणसम्बन्धी विषयलाई पनि गम्भीर रूपमा लिन नेतृत्वलाई आग्रह गर्नुभयो ।