• २७ वैशाख २०८३, आइतबार

आरनबाट उद्योगसम्म पुगेपछि विश्वकर्माको सफल यात्रा

blog

पाँचौँ गुल्मी महोत्सवमा सामग्री बिक्री गर्दै सन्तोष विश्वकर्मा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २७ गते ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ का ३९ वर्षीय सन्तोष विश्वकर्माले फलामको काम गर्दै आएको दुई दशकभन्दा बढी समय बितिसकेको छ । अहिले उहाँले फलामबाट बनेका घरेलु सामग्रीहरूको बिक्री गर्दै व्यवसाय विस्तार गरिरहनुभएको छ ।

उहाँले पाँचौँ गुल्मी महोत्सवमा कृषि तथा घरेलु प्रयोजनका हँसिया, कोदालो, चक्कु र खुकुरीलगायत सामग्रीको स्टल राख्नुभएको छ । कृषि कार्यको सिजन भएकाले यस्ता सामग्रीको राम्रो व्यापार भएको उहाँले बताउनुभयो ।

महोत्सवमा उहाँले १० दिन लगाएर तयार गरेको २० किलोग्राम तौलको खुकुरी विशेष आकर्षण बनेको छ । उक्त खुकुरीको मूल्य ५५ हजार ५५५ रुपियाँ तोकिएको छ । ठुलो र आकर्षक भएकाले दैनिक रूपमा फोटो खिच्नेहरूको भीड लाग्ने गरेको छ । यसअघि उहाँले वालिङ महोत्सवमा ३० किलोको खुकुरी एक लाख ११ हजार १११ रुपियाँमा बिक्री गरेको अनुभव पनि सुनाउनुभयो ।

उहाँको घरमै फलामका औजार बनाउने सानो उद्योग सञ्चालनमा छ, जहाँ पाँच जना स्थानीयले रोजगारी पाएका छन् । सन्तोषले उद्योग र विभिन्न मेला–महोत्सवमार्फत फलामका सामग्रीको व्यापार गर्दै आउनुभएको छ ।

विदेश जान कहिल्यै मन नलागेको बताउने उहाँले पुख्र्यौली पेसालाई आधुनिक रूपमा रूपान्तरण गर्दै निरन्तरता दिँदा राम्रो आम्दानी भइरहेको बताउनुभयो । “बाबुबाजेले बालीघरे प्रथामा काम गर्नुहुन्थ्यो, तर त्यसबाट जीवनयापन मात्र हुन्थ्यो, प्रगति हुँदैनथ्यो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार उद्योग सञ्चालन कठिन भए पनि परिवारसँगै बसेर मासिक ५०–६० हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ । गाउँमा २०–२२ घर आफ्नो समुदाय भए पनि सबैजसो आरन पेसामै संलग्न रहेको उहाँले बताउनुभयो ।

गुल्मी महोत्सव कृषि स्टल संयोजक तेजेन्द्र श्रेष्ठका अनुसार कृषि उत्पादन, उद्योग, घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनमा जोड दिइएकाले निःशुल्क स्टल व्यवस्था गरिएको हो ।