सिराज खान
नेपालगन्ज, वैशाख २७ गते । खोप लगाउन छुटेका ५८ जना बालबालिकाको खोजी गरी खोप लगाएपछि बाँकेको जानकी गाउँपालिकालाई यस वर्ष जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष तथा पालिकास्तरीय खोप समन्वय समितिका उपाध्यक्ष राम प्यारी यादवले पालिकाभित्रका १ हजार १ सय १७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार छुटेका ५८ जना बालबालिकाको समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो । उपाध्यक्ष यादवले समाजमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले निकै मेहनत गर्नुपरेको बताउनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले एक औपचारिक कार्यक्रममा जानकी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्दै समुदायमा खोपसम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो । उहाँले जानकीलाई यस वर्ष जिल्लामै पहिलो पूर्णखोप पालिका घोषणा गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले स्वास्थ्य क्षेत्रमा जानकी गाउँपालिका लुम्बिनी प्रदेशमै उत्कृष्ट रहेको उल्लेख गर्दै जिल्लामै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा भएकोमा बधाई दिनुभयो ।
सो अवसरमा पालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । वडा नं/ ६ का अध्यक्ष जगदीश प्रसाद हरिजन तथा सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले पनि खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्वास्थ्यसम्बन्धी खोप, टीका तथा अन्य औषधि सेवनमा जानकी गाउँपालिका अन्य पालिकाभन्दा अगाडि रहेको उल्लेख गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न स्वास्थ्यकर्मीको भूमिका अत्यन्त सराहनीय रहेको बताएका थिए । बाँकेका ८ पालिकामध्ये जानकी पूर्णखोप घोषणा गर्ने पहिलो पालिका बनेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष सीता कार्की, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं. ३ का अध्यक्ष राजकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष टिका नाथ यादव, आइटी अधिकृत विकास जिसी, वडा नं. ६ का सदस्य अजमत अली, कार्यपालिका सदस्य निर्मला हरिजन तथा जनस्वास्थ्य अधिकृत टामलाल बेल्बासे लगायतको सहभागिता रहेको थियो ।