अमरराज नहर्की
तनहुँ, वैशाख २७ गते । ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र साइक्लिङ रुटको प्रवर्धन गर्ने उद्देश्यले बन्दीपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ ।
बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता शनिबार सम्पन्न भएको हो । धरमपानीदेखि बन्दीपुर बजारसम्म करिब २२ किलोमिटर दूरी समेटिएको प्रतिस्पर्धामा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम हुनुभयो ।
उहाँले दूरी एक घण्टा १९ मिनेट ८ सेकेन्डमा पूरा गर्नुभयो । तनहुँका सौगात अछामी द्वितीय तथा सुनसरीका सञ्जय राई तृतीय हुनुभयो । प्रतियोगितापछि आयोजित कार्यक्रममा विजेतालाई क्रमशः १५ हजार, १० हजार र पाँच हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ ।
सहभागी सबैलाई तीन हजार उपलब्ध गराइएको बन्दीपुर गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर बजारमा बढी केन्द्रीत रहेको पर्यटनलाई गाउँसम्म ल्याई बसाइ लम्बाउने र साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार यस्ता गतिविधि सञ्चालन भइरहेको बताउनुभयो ।
साइक्लिङले पर्यटन प्रवर्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिएको उल्लेख गर्नुभयो । “धरमपानी–बन्दीपुर मार्ग प्राकृतिक सौन्दर्य, पहाडी संस्कृति र घरबास अनुभवले भरिपूर्ण छ, यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ” उहाँले भन्नुभयो । उपाध्यक्ष पञ्चमाया गुरुङले ग्रामीण बस्ती, होमस्टे, कृषि र स्थानीय संस्कृतिलाई जोडेर तयार गरिएको साइक्लिङ रुटले बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष सुदीप पौडेलले बन्दीपुर क्षेत्र साहसिक खेल पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने सुझाव दिनुभयो ।
बन्दीपुरमा प्राचीन बजार, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, तीनधारा, धरमपानी, कोरीखाका होमस्टे, गुम्बा र सिद्ध गुफाजस्ता स्थलले पर्यटकलाई आकर्षित गर्दैआएका छन् ।
यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लुलगायत हिमशृङ्खला एउटै फ्रेममा अवलोकन गर्न सकिन्छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट बन्दीपुर गेट हुँदै करिब आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केवलकारले यात्रालाई थप सहज बनाएको छ ।
काठमाडौँ, पोखरा र सौराहाजस्ता प्रमुख पर्यटकीय केन्द्रको बिचमा रहेको बन्दीपुरमा होटल र घरवास सुविधाले पर्यटक बसाइ लम्ब्याउन सहयोग पुगेको छ ।