माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख २७ गते । पोखराको बागलुङ बसपार्कमा सार्वजनिक स्थानमै झैंझगडा (ग्याङ फाइट) गर्ने छ जना पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराको बाँझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–१३, बाँझपाटनका २७ वर्षीय सुजन आलेमगर, कास्कीको मादी गाउँपालिका घर भई हाल बाँझपाटन बस्ने २३ वर्षीय राजेश परियार, गोरखा धार्चे घर भई हाल पोखरा बाँझपाटन बस्ने ३० वर्षीय दिलेराम (दिपेश) गुरुङ, नुवाकोट घर भई हाल बागलुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ, नुवाकोट घर भई हाल बागलुङ बसपार्क बस्ने २५ वर्षीय राजकुमार तामाङ र पोखरा–२, बाग्लुङ बसपार्ककी २० वर्षीया लिजा पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गत वैशाख २२ गते राति करिब ९ः३० बजेको समयमा केही व्यक्तिबिच आपसमा कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यो समूहबिच झैंझगडा हुनुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलेको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।