• २७ वैशाख २०८३, आइतबार

मुसिकोटको ग्वादिका चौरमा तीन हजार खेलाडी भिड्दै

blog

मुसिकोट नगरपालिका-४, ग्वादिकाचौरमा सञ्चालन भएको भलिबल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), वैशाख २७ गते । गुल्मीको मुसिकोट नगरपालिका–४, भुवाचिदीको ग्वादीका चौर खेल मैदानमा तीन हजार खेलाडी भिड्ने भएका छन् । मुसिकोटले नगरका दुई र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड गरेर तीन खेलकुद प्रतियोगिताको संयोजन ग्वादिका चौरमा गरेको छ । जसलाई मुसिकोट खेलकुद महामेला भनिएको छ । 

महामेला वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुने छ । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले होटल व्यवसायी, होमस्टे र स्थानीयको गरेर खेलाडीको व्यवस्थापन गरिएको बताउनुभयो । अहिले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ ।

महामेला भित्र वैशाख ३१ देखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप आयोजना गरिएको छ । जसमा दुई लाख एक हजार रुपियाँ पुरस्कारको जिल्लाका पालिका स्तरीय भलिबल प्रतियोगीता रहेको छ । 

उपविजेताले एक लाख ३५ हजार, तृतीयले ४० र सान्त्वना हुनेले २६ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुसिकोट नगरपालिकाले जनाएको छ । मेयरकपमै महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको छ ।

यो प्रतियोगीताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँ प्राप्त गर्ने छन् । ब्याटमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । विजेताले २० हजार र उपविजेताले १३ हजार ५०० रुपियाँ पाउने मुसिकोटमा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले तीन वटा खेलमा तीन हजार खेलाडी ग्वादिका चौरमा भिड्ने बताउनुभयो । सोही महामेलाभित्र १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पनि मुसिकोटको ग्वादिका चौरका हुने भएको छ । 

जिल्ला खेलकुद विकास समितिको गुल्मीले वैशाख २८ देखि ३० गतेसम्म प्रतियोगीता गर्ने निर्णय गरेको खेलकुद परिषद्, लुम्बिनीका सदस्य महेश काउछाले जानकारी दिनुभयो ।

चिदी चौर खेलमैदान निर्माणको चरणमा रहेकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पछिल्लो तम्घास बाहिर आयोजना गरिएको छ । १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुरुक्षेत्र गाउँपालिकाको घिउबेँसी खेल मैदानमा सम्पन्न भएको थियो ।