रामकृष्ण बोहरा
बागलुङ, बैशाख २७ गते । कुष्ठरोग र अधिकारको क्षेत्रमा योगदान गर्नुभएकी पूर्व नर्स यशोदा राजभण्डारीलाई ‘ओमप्रसाद–मेघकुमार’ सम्मान प्रदान गरिएको छ ।
कुष्ठरोगले ग्रसित राजभण्डारी रोग जितेपछि नर्स बन्नुभएको थियो । उहाँले कुष्ठरोगको उपचारमै पोखरास्थित हरियोखर्क अस्पतालमा बसेर २५ वर्ष सेवा गर्नुभएको थियो । विद्या मन्दिर पुस्तकालय बागलुङले ७७ औं साधारणसभाको अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले राजभण्डारीलाई नगद ५ हजार पुरस्कारसहित सम्मान गर्नुभएको हो ।
मन्त्री नेपालीले राजभण्डारीको संघर्षबाट धेरै पाठ सिक्न सकिने भन्दै संघर्षबाटै हरेक नागरिक सफल बन्ने बताउनुभयो । पुस्तकालयले काजी रोशनको अध्यक्षतामा गठन गरेको छनौट समितिले उहाँको योगदानकै आधारमा छनौट गरेको हो ।
कार्यक्रममा गत शैक्षिक वर्ष एसईईमा उत्कृष्ट अङ्क ल्याउने गणेश माविका दिपक श्रेष्ठ र रुद्रेपिपल माविका ज्ञानकुमारी छन्त्याललाई ‘नन्द गंगा’ पुरस्कार दिइएको थियो । पुरस्कारको बारेमा परिवारका सदस्यको रुपमा विप्लव शर्माले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट पाठक जैमिनी नगरपालिकाका पवन सापकोटा र बालपाठक काठेखोला गाउँपालिकाकी इन्दु थापा मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो । २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गर्नुभएको थियो ।