• २७ वैशाख २०८३, आइतबार

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

blog

बेइरुट, वैशाख २७ गते । लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ । स्थानीय सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेइरुटको दक्षिणी क्षेत्रमा सवारी साधनलाई लक्षित गरी गरिएको तीन वटा ड्रोन आक्रमणमा चार जनाको ज्यान गएको हो । 

त्यस्तै, दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको बताइएको छ । इजरायल र हेजबुल्लाहबिच अप्रिल १७ मा युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिकजसो आक्रमण जारी रहेका छन् । पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको सङ्केत गरेको छ । बुधबार राति इजरायली वायुसेनाले बेइरुटको दक्षिणी उपनगरमा आक्रमण गर्दै हेजबुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएको दाबी गरेको थियो । 

युद्धविरामपछि राजधानी नजिक गरिएको यो पहिलो आक्रमण मानिएको छ । शनिबार भएका दुई आक्रमण बेइरुटलाई दक्षिणी बन्दरगाह सहर सैदासँग जोड्ने राजमार्ग क्षेत्रमा भएका थिए, जहाँ केही व्यक्ति घाइते भएका छन् । अर्को आक्रमण लेबनानको चोउफ क्षेत्रतर्फ जाने सडकमा भएको थियो, जसमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

दक्षिणी गाउँ साक्साकियेहमाथि गरिएको अर्को हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबिच, दक्षिणी लेबनानका बुर्ज रहाल र माइफादौन क्षेत्रमा पनि आक्रमण भएको र त्यहाँ थप मानवीय क्षति भएको समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा