• २७ वैशाख २०८३, आइतबार

जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

blog

विजेता धिर बुढा र कल्पना बुढा । तस्बिरः नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २७ गते ।
जुम्ला–रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ धावक धिर बुढा प्रथम हुनुभएको छ । उहाँले ६ घण्टा १२ मिनेटमा ५४ किलोमिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो । यस्तै, द्वितीयमा होमबहादुर हमाल र तृतीयमा गोपाल तामाङ रहनुभएको छ ।

महिलातर्फ कल्पना बुढा प्रथम, सुनसरी रोकाया द्वितीय र सन्ध्या बुढा तृतीय हुनुभएको छ । ५४ किलोमिटर विधामा प्रथम हुने धिर बुढाले १ लाख रुपियाँसहित स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार र ५० हजार रुपियाँ प्राप्त गर्नेछन् भने चौथो र पाँचौँ हुनेलाई जनही २० हजार रुपियाँ प्रदान गरिने छ । ५४ किलोमिटर विधामा प्रथम र द्वितीय हुने महिला खेलाडीले अमृता कठायत (बस्नेत)का छोराछोरीद्वारा आमाको स्मृतिमा थप २५-२५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ ।

यसैगरी, १० किलोमिटर पुरुषतर्फ बसन्त बुढा प्रथम, नवीन परियार द्वितीय र राज भण्डारी तृतीय हुनुभएको छ । महिलातर्फ १० किलोमिटर दौडमा सपना बुढा प्रथम, सुस्मिता भण्डारी द्वितीय र गौकली रावत तृतीय हुनुभएको छ । उक्त विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

पाँच किलोमिटर बालक विधातर्फ नोर्भु राना प्रथम, नरेश रावत द्वितीय र नवराज महतारा तृतीय हुनुभएको छ । बालिका विधातर्फ कृतिका सुनार प्रथम, एमुना बुढा द्वितीय र खुसी बुढाथोकी मगर तृतीय हुनुभएको छ ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहहरूको समन्वयमा सम्पन्न भएको हो । जुम्लाका गिनिज बुक अफ वल्ड रेकर्डधारी तथा विश्वप्रसिद्ध धावक हरिबहादुर रोकायाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शनिबार बिहान ६ बजे चन्दननाथ मन्दिर अगाडि पूर्व वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईं र धावक रोकायाले गर्नुभएको थियो ।

जुम्लादेखि रारासम्मको दौडलाई प्रतियोगिताको सबैभन्दा आकर्षक विधाका रूपमा लिइएको छ । प्रतियोगितामा नेपालका मञ्जुश्री ट्रेल रेस विजेतासहित भारत, इटाली र फ्रान्सका खेलाडीहरूको सहभागिता रहेको थियो । आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीका अनुसार यस पटक करिब एक हजार खेलाडी सहभागी भएका छन् ।

५४ किलोमिटर दौडतर्फ ४९ जना, १० किलोमिटर दौडतर्फ २०० जना तथा पाँच किलोमिटर दौडतर्फ ६५० भन्दा बढी धावक सहभागी भएका थिए । क्लबका अध्यक्ष शाहीका अनुसार जुम्लाको कृष्णमन्दिरबाट मुगुको रारासम्म ४९ जना खेलाडी दौडिएका थिए ।

साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुँदै आएको आयोजकले जनाएको छ । प्रतियोगिताले हिमाली खेल क्षेत्रको प्रवर्धनसँगै खेल पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ५४ किलोमिटर दौडमा नेपाली सेनाको नम्बर २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेतसहित विभिन्न खेलाडी सहभागी थिए । यस्तै १० र पाँच किलोमिटर दौडमा युवा, ज्येष्ठ नागरिक तथा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको थियो ।