हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २७ गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका कोरला नाकास्थित दशगजा क्षेत्रमा प्राकृतिक मुहान नभएपछि पहिलो पटक भूमिगत पानीको व्यवस्थापन गर्न थालिएको छ । ल्होमन्थाङ गाउँपालिकाले नाकामा व्यवसाय गर्ने स्थानीय र पर्यटकलाई खानेपानीको चरम अभाव भएपछि ३० लाख रुपियाँको लागतमा भूमिगत खानेपानी आयोजनाको काम सुरु गरेको छ । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भूमिगत पानीको मूल खोज्ने काममा लागि प्रयास भइरहेको बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँ पानीको समस्या निकै टड्कारो रूपमा देखिन थाल्यो । पानी त नभई नहुने चिज भएकाले यसको समाधानका लागि भूमिगत मूल खोज्ने कामका लागि हामी लागिरहेका छौँ ।” जलवायु परिवर्तनका कारण मुहान सुक्दै गएको गाउँपालिकाका अन्य विभिन्न बस्तीमा समेत खानेपानी अभाव हुन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरला नाकामा भूमिगत पानीको मूल भटिएमा अरू बस्तीमा पनि यसको प्रयोग गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ । लिजी–नेचुङ नाका (कोरला) दशगजा क्षेत्रमा रहेको मुस्ताङ भन्सार कार्यालयको स्वामित्वमा रहेको जग्गामा गरिएको सर्वेक्षणमा १५० मिटर गहिराइमा पानीको सतह भेटिएको छ । सो स्थानमा मेसिनको सहायताले काम सुरु गरिकाले पानीको स्रोतको पहिचान भएपछि ट्याङ्की निर्माण गरी कोरला नाका क्षेत्रमा वितरण गर्ने योजना रहेको छ । गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा एसियन बोरिङ कन्स्ट्रक्सन लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।
कोरला नाकामा रहेका ७० वटा टेन्टमा १४० व्यवसायीले खानेपानीका लागि करिब १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालयबाट सवारीसाधनमा भाडा तिरेर पानी ढुवानी, तापक्रम ऋणात्मक हुँदा हिउँ सङ्कलन तथा चिनियाँ भन्सार कार्यालयबाट ट्याङ्करमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय व्यवसायी पेमा छिरिङ गुरुङले बताउनुभयो । कोरला क्षेत्रमा गाउँपालिकाले छ वटा अस्थायी र चीन सरकारले चार वटा पक्की शौचालय बनाउन सामग्रीसमेत उपलब्ध गराएको छ ।