कुरिनटार (चितवन), वैशाख ५ गते । बाढी, पहिरो, दुर्घटना, आगलागी वा डुबान जस्ता प्राकृतिक तथा दैवीप्रकोपमा परी जोखिममा परेका व्यक्तिलाई बचाउन होमिने उद्धारक सधैँ सकुशल नफर्किन पनि सक्छन् । हरदम आइपर्न सक्ने जोखिम, चुनौतीपूर्ण तथा ज्यानको पर्वाह नगरी निरन्तर कर्तव्यपथमा लाग्न राष्ट्रभक्ति र देशप्रतिको समर्पण नभई सम्भव हुँदैन, यही समर्पणलाई आफ्नो वृत्ति (करिअर) बनाउने देशभक्तको पनि यहाँ कमी छैन ।
गोताखोर, अग्निनियन्त्रक, उद्धारक जस्ता जोखिमयुक्त पेसा अँगाल्दै सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको विपत् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवनको तैनाथीले सबैलाई प्रभावित पार्छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सीमित साधन स्रोत उपयोग गरी शिक्षालयले प्राप्त गरेको उपलब्धि अनुकरणीय रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “भौगोलिक दृष्टिले हामी संवेदनशील अवस्थामा रहेका छौँ । बाढी, पहिरो, डुबान, आगलागी, दुर्घटना जस्ता जोखिमको उद्धारमा खटिन तयार उद्धारको सुरक्षालाई हामीले ध्यान दिनु पर्छ ।” शिक्षालयले छोटो समयमा हासिल गरेको उपलब्धि अनुकरणीय रहेको बताउँदै उहाँले यसलाई विशिष्टीकृत शिक्षालयका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उक्त शिक्षालय विक्रम संवत् २०५८ मा सशस्त्र प्रहरी बल, नेपालको बेस क्याम्पका रूपमा स्थापना भई विसं २०६७ वैशाख १९ गतेदेखि पहिलो पटक विपत् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन भएको थियो । विसं २०६८ मङ्सिर २२ देखि विपत् व्यवस्थापन तालिम केन्द्रका रूपमा स्थापना भएको थियो । बङ्गलादेशबाट विशेष तालिमप्राप्त गोताखोर तयार गरी उद्धार तथा तालिम सञ्चालन गरेको केन्द्रले हाल देशभर ५९ वटा अस्थायी विपत् व्यवस्थापन बेस (शिविर) विस्तार गरेको छ ।
यस अवधिमा उक्त शिक्षालयले १३४ जना विशेष तालिमप्राप्त गोताखोर तयार गरेको छ । यससँगै केन्द्रबाट विपत् व्यवस्थापन, मेडिकल फस्र्ट रेस्पोन्डर (एमएफआर) कोल्याप्स स्टकचर सर्च एन्ड रेस्क्यु (सिएसएसआर), रोप रेस्क्यु, वाटर रेस्क्यु, डिप वाटर रेस्क्युलगायतका खोज तथा उद्धार तालिम प्रदान हुँदै आइरहेको छ । यस्तै प्रत्येक वडाबाट २५ जनाका दरले एक लाख ६७ हजार ‘विपत् सूचक’ तयार गरी स्थानीय तहसँगको सहकार्यमा खोज तथा उद्धार र सूचना आदानप्रदान सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले खोज, उद्धार र तत्काल आवश्यक उपचारका लागि पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिङसम्मको खण्डमा ‘रोड सेफ्टी काउन्सिल’ मार्फत नयाँ प्रोजेक्ट सुरु गर्न लागिएको बताउनुभयो । उहाँले राजमार्गआसपासका सामुदायिक अस्पताल र एम्बुलेन्सलाई एकीकृत गरी दुर्घटना हुनासाथ तत्काल उद्धार गरी उपचारका लागि पु¥याउने व्यवस्था सुरु गर्न लागिएको छ ।
सशस्त्र प्रहरीले देशका विभिन्न नौ स्थानमा विपत् व्यवस्थापन बेस स्थापना गरी पछिल्लो २० वर्षमा सडक दुर्घटना, पहिरो, नदीजन्य, आगलागीलगायतका घटनामा परेका एक हजार सात जनाको जीवितै उद्धार गरेको छ । सोही क्रममा १५ हजार ५४१ जनाको सकुशल उद्धार, ८८ हजार पाँच सय जना घाइतेको उद्धार र २५ हजार ७८७ जनाको शव फेला पारी परिवारको जिम्मा लगाइएको छ । केन्द्रले विपत्अघि, विपत्को समय र विपत्पछिको अवस्थालाई समेत दृष्टिगत गरी आधारभूत र उन्नत तालिममार्फत दक्ष जनशक्ति उत्पादन गरी अब्बल काम गरेबापत केन्द्र सात पटक उत्कृष्ट युनिटका रूपमा पुरस्कृत भएको छ ।
केन्द्रका प्रमुख तथा सशस्त्र प्रहरी भरत खनियाँले शिक्षालयबाट दक्ष जनशक्ति तयार गर्नुका साथै शिक्षालयलाई विशिष्टीकृत केन्द्रका रूपमा विकास गरिने बताउनुभयो । उहाँले विपत् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न महìवपूर्ण पहल भइरहेको बताउनुभयो । सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले देशको शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका अत्यन्तै महìवपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोप, विपत् जोखिम र आगलागी जस्ता घटनामा परेका नागरिकको उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारी अग्रसर भई खोज तथा उद्धारमा पु¥याएको योगदान अतु्लनीय छ ।