• २७ वैशाख २०८३, आइतबार

चलचित्रमा द्वन्द्व : आवश्यकता कि दर्शकको माग

blog

सन्तोष सुवेदी

कास्की, वैशाख २७ गते  । चलचित्र द्वन्द्वरहित हुँदैनन् । चलचित्रलाई राम्रो बनाउने एउटा पाटो पनि द्वन्द्वलाई लिने गरिन्छ तर द्वन्द्वलाई गर्ने परिभाषा भने फरक फरक गरिएको पाइन्छ । अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने कि नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिकाले बुझाउन खोज्नुभयो । ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ,” उहाँले भन्नुभयो । 

चलचित्र पत्रकार सङ्घ नेपाल कास्की ल्वाङगाउँमा गरेको चलचित्र संवादको तेस्रो चरण ‘चलचित्र द्वन्द्व’ शीर्षकमा बहस चलाइएको थियो । सञ्चारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेको उक्त चरणमा अभिनेता उप्रेती र लेखक तथा निर्देशक मनोज पण्डित वक्ताका रूपमा रहनुभएको थियो । अभिनेता उप्रेतीले चलचित्रमा द्वन्द्व राख्दा त्यसको आवश्यकताबारे प्रस्ट पार्नुपर्ने जोड दिनुभयो । ‘चलचित्रमा द्वन्द्वलाई राम्रो तरिकाले व्यक्त गरिएको हुँदैन । द्वन्द्व व्यक्त गरे पनि द्वन्द्व हुनुको घटनालाई गरिएको हुँदैन,” उहाँले भन्नुभयो । 

लेखक तथा निर्देशक पण्डित चाहिँ चलचित्रमा पात्रले जुन कुरा गर्छ, उसमा आउने असहज परिस्थिति द्वन्द्व हो भनी परिभाषित गर्नुभयो । उहाँले महाभारतको कथालाई उदाहरण दिँदै भन्नुभयो, “महाभारतको सबैभन्दा बढी सम्झना हामीलाई आउने भनेको जब अर्जुनले भगवान् कृष्णलाई रथ रोक्न खोज्नु हो, त्यो सबैभन्दा ठुलो द्वन्द्व थियो । म लडौँ कि नलाडौँ भन्ने द्वन्द्व थियो ।” यसैबिच अभिनेता उप्रेतीले तत्कालीन समयमा नेपाली चलचित्र उद्योगले आफूलाई ‘बिकाउ’का रूपमा प्रयोग गरेको बताउनुभयो । निकै आध्यात्मिक सुनिने उप्रेतीले संवादका क्रममा कतिपय विषय निकै दार्शनिक ढङ्गले पस्कनुभयो । “विश्वभरिको चलचित्र उद्योगमा सबैभन्दा धेरै द्वन्द्वकै फिल्म बन्छ । लिडिङ फिल्म इन्डस्ट्रिजले द्वन्द्वको चलचित्र नै बनाउँछ । हलिउडले ६० प्रतिशत त एक्सन मुभी नै बनाउँछ । त्यसभित्र धेरै कारण छ,” उहाँले भन्नुभयो । 

उहाँले द्वन्द्व भएको चलचित्र बनाउन पनि साहस चाहिने बताउनुभयो । ‘पर्दामा देखाइएको एक किमिसको घाउ हो, यहाँ घाउको व्यापार हुन्छ । घाउ सदा बिक्छ । आँसु जति झुठ कुनै हुँदैन । प्रेममा पनि खस्छ, दुःखमा पनि खस्छ,” उहाँले भन्नुभयो । लेखक तथा निर्देशक पण्डितले सोही विषयमा असहमति जनाउँदै नेपाली चलचित्र राम्रो नबन्दा विदेशी फिल्म हाबी भएको तर्क राख्नुभयो । “हामीले नेपाली दर्शकलाई इन्टरटेन दिने खालका फिल्म बनाउन सकेका छैनौँ । अनि द्वन्द्व चाहिँ हामीभित्र चलिरहेको हुन्छ । १० प्रतिशत फिल्मले दर्शकलाई रुवाए, ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाए,” उहाँले भन्नुभयो ।