• ११ वैशाख २०८३, शुक्रबार

नेपाल भानुआतुसँग पराजित

blog

तस्बिर क्यान

काठमाडौँ, वैशाख ११ गते । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग पराजित भएको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५।३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिनुभयो । उहाँले १९ बलमा ४ चौका प्रहार गर्नुभयो । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भानुआतुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआतुले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिनुभयो। यहाँले ५० बलमा दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०/१० रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिनुभयो। यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक  विकेट लिनुभयो। अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।