हरिकृष्ण ऐडी
मुगु, वैशाख ११ गते । मुगुको छायानाथ रारा नगरपालिका वडा ५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ ।
मंगलबारदेखि छायानाथ रारा नगरपालिका-५ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो ।
विद्यालयका प्रधानाध्यापक जंग बहादुर शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक-शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको उहाँले बताउनुभयो । उक्त विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ ।
प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरुले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान संचालन गरेका छन् ।
प्रधानाध्यापक शाहीले भन्नुभयो, ‘अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरुलाई भर्नामा बढिसहभागिता गर्नलाई हामीले उक्त घरदैलो अभियान चलाएका हौ ।" सरकारी विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने उदेश्यले अविभावकहरुलाई बुझाउन पनि अभियानले भुमिका खेलेको छायानाथ रारा नगरपालिका वडा नं ५ स्थानीय रामराज कार्कीले जानकारी दिनुभयो ।
कार्कीले भन्नुभयो, राष्ट्रिय आधारभुत विद्यालयको टोली टोल-टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ । उक्त विद्यालयले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराएको छ।