• ११ वैशाख २०८३, शुक्रबार

खोटाङका १९ योजना अलपत्र : काम सुरु नगर्ने निर्माण कम्पनीलाई कार्यालयको चेतावनी

blog

राजकुमार भट्टराई 

खोटाङ, वैशाख ११ गते । खोटाङमा ठेक्का सम्झौता भएका १९ वटा विभिन्न योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका छन् । सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता भएका १९ योजनाको काम सुरु नभएको हो । विभिन्न बहानामा निर्माण व्यवसायीहरूले काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले उनीहरूलाई अन्तिम चेतावनी दिएको छ ।

यसअघि २६ वटा योजनाको काम सुरु भएको थिएन । कार्यालयले पत्राचार गरेपछि सातवटा योजनाको काम सुरु भएको कार्यालय प्रमुख विमन दाहालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले लगातार ताकेता गर्दा पनि बाँकी १९ योजनाका ठेकेदारले भने अझै अटेर गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालय खोटाङमार्फत चालू आर्थिक वर्षमा कूल १२३ वटा योजनाको ठेक्का सम्झौता भएको छ । पटक–पटक खबरदारी गर्दा पनि निर्माण सुरु नगरेपछि ती १९ वटै कम्पनीका नाममा वैशाख १० गते अन्तिम सूचना प्रकाशन गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

तोकिएको समयमा काम सम्पन्न नगरे नियमअनुसार सम्झौता रकमको आधारमा प्रतिदिन शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशतका दरले जरिवाना तिराउने सूचनामा उल्लेख छ । त्यस अवधिमा पनि काम नभए कार्यसम्पादन जमानत जफत गर्ने, थप लागत र अन्य दायित्व असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने कार्यालय प्रमुख दाहालको भनाइ छ ।

काम सुरु नभएका योजनाहरूमा कार्यालयबाट व्यवस्थापन हुनुपर्ने बजेट, अग्रिम पेस्की, निर्माणस्थलको स्वामित्व हस्तान्तरण र प्राविधिक सहयोगमा कुनै समस्या नरहेको लेखा प्रमुख सीताराम राउतले स्पष्ट पार्नुभयो ।