• ११ वैशाख २०८३, शुक्रबार

चन्द्रगढी महिला गोल्डकप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

blog

लीलाराज खड्का

बिर्तामोड, वैशाख १२ गते । झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि यात्रा तय गरेको हो । फाइनल प्रवेशसँगै आर्मीले कम्तीमा पाँच लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । आर्मीले अब चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३२ औँ मिनेटमा पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ५६ औँ मिनेटमा जेनिफर रानामगरले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाउनुभयो । हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किएपछि रानाले त्यसलाई जाली चुमाउनुभएको थियो ।

खेलको ७० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर पुनरागमनको प्रयास गरे पनि त्यो पर्याप्त भएन । पूजा रानाले डिबक्सभित्र हेडमार्फत मिलाइदिएको पासलाई रेखाले हेडमार्फत नै गोल गर्नुभएको थियो । आर्मीकी डिफेन्डर विमला विक, सुनिता चौधरी र अनिता लम्जेल सम्मिलित रक्षापङ्क्तिलाई छिचोल्न नसक्दा पुलिसको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।

आर्मीकी डिफेन्डर विमला विक खेलको 'प्लेयर अफ द म्याच' घोषित भई नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । शनिबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र एपीएफ फुटबल क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल वैशाख १४ गते हुनेछ ।