हुम्ला, वैशाख ११ गते । दुई वर्षको छोरालाई साथमै राखेर अदानचुली गाउँपालिका–५, काँखे गाउँकी २० वर्षीया लक्ष्मी शाहीले कालागाड खोला किनारमा गिट्टी फुटाएर आम्दानी गर्दै आउनुभएको छ ।
घरमा बालक हेर्ने मानिस नहुँदा उहाँले कामसँगै छोराको स्याहारसमेत गर्दै गिट्टी फुटाउने काम गर्न बाध्य हुनुभएको हो । घरमा खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नभएकाले उहाँले सोही वडाको कालागाड खोला किनारमा दैनिक गिट्टी फुटाउने काम गर्दै आउनुभएको छ । यो काम उहाँको दैनिकी जस्तै बनेको छ ।
श्रीमान् अध्ययनका लागि जिल्ला बाहिर रहेकाले घरमा सासू–ससुरा भए पनि उनीहरू अन्य काममा व्यस्त रहने भएकाले छोरालाई साथमै लिएर काम गर्नुपर्ने बाध्यता रहेको शाहीले बताउनुभयो । उहाँले काम गर्ने स्थानको एक छेउमा छोरालाई सुताएर काम गर्ने गर्नुहुन्छ ।
“यो काम नगरे आम्दानी हुँदैन,” उहाँले भन्नुभयो, “बिहान खाना पकाएर खाएर छोरालाई बोकेर खोला किनारमा जान्छु र गिट्टी फुटाउन सुरु गर्छु।”
नाबालक छोरा सुतिरहेको बेला उहाँले बालुवा र गिट्टीमाथि पातलो ओछ्यान बनाएर सुताउने गर्नुहुन्छ । गर्मी बढ्दा छाता ओढाउने गर्नुहुन्छ भने बच्चा जागा हुँदा पिठ्युँमा बोकेर काम गर्ने गर्नुहुन्छ ।
उहाँले एक बोरा गिट्टीको ५० रुपियाँ पाउने गर्नुभएको छ भने निर्माण स्थलसम्म पु¥याउन सके १०० रुपियाँसम्म पाउने बताउनुभयो ।
उहाँसँगै गाउँका अन्य तीन जना ६० वर्षमाथिका महिलाहरू पनि गिट्टी फुटाउने काम गर्दै आएका छन् । यो काम गाउँका महिलाहरूको आम्दानीको प्रमुख माध्यम बनेको छ ।