• ११ वैशाख २०८३, शुक्रबार

पृथ्वीचन्द्र अस्पतालको चार करोड बिमा भुक्तानीमा ढिलाइ

blog

पृथ्वीचन्द्र अस्पताल । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ११ गते ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य बिमा बापतको रकम समयमै प्राप्त नहुँदा अस्पतालको व्यवस्थापन तथा स्वास्थ्य सेवामा असर पर्ने देखिएको छ । बिमा बोर्डबाट पाउनुपर्ने ठुलो रकम भुक्तानी नहुँदा अस्पतालले खरिद गरेका स्वास्थ्य सामग्रीको भुक्तानी गर्न नसक्दा सप्लायर्सहरूले थप सामग्री उपलब्ध गराउन आनाकानी गर्न थालेका छन् ।

अस्पतालको लेखा शाखाका अनुसार बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने रकमको बक्यौता ठुलो छ । चालु आर्थिक वर्षको हालसम्मको विवरणअनुसार करिब तीन करोड ८४ लाख रुपियाँ भुक्तानी हुन बाँकी छ । त्यसैगरी, अघिल्लो आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको समेत गरी थप १५ लाख रुपियाँभन्दा बढी रकम प्राप्त नभएको अस्पतालले जनाएको छ ।

अस्पताल व्यवस्थापनले बिमा बापतको रकम प्राप्त हुनासाथ सप्लायर्सहरूको बक्यौता भुक्तानी गर्ने योजना बनाएको थियो । तर लामो समयसम्म रकम प्राप्त नहुँदा उधारोमा खरिद गरिएका औषधी तथा अन्य स्वास्थ्य सामग्रीको भुक्तानी गर्न अस्पताललाई समस्या परेको छ ।

भुक्तानीमा ढिलाइ भएपछि सप्लायर्सहरूले अबदेखि थप स्वास्थ्य सामग्री उधारोमा दिन नसकिने बताएका छन् । यदि सामग्री आपूर्ति रोकिएमा अस्पतालमा दैनिक आउने सयौं बिरामीको उपचार प्रक्रिया प्रभावित हुने जोखिम बढेको छ । समयमै बीमा दाबी रकम उपलब्ध नहुँदा सरकारी अस्पतालको दैनिक कार्यसञ्चालनमै समस्या देखिएको भन्दै सरोकारवाला निकायहरूले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् ।