काठमाडौँ, वैशाख ११ गते । नयाँ वर्षको सुरुवातसँगै नेपाली पात्रोले नयाँ स्वरूपसहित आफ्नो यात्रा अघि बढाएको छ । ‘आज कति गते ?’ भन्ने साधारण प्रश्नबाट सुरु भएको नेपाली पात्रो आज १ करोड ३० लाखभन्दा बढी डाउनलोडसहित विश्वभर छरिएका नेपालीहरूलाई तिथि–मिति, चाडपर्व तथा आफ्नै संस्कृति र पहिचानसँग जोड्ने डिजिटल माध्यमका रूपमा स्थापित भएको छ ।
नयाँ वर्षको अवसरमा नेपाली पात्रोले केवल समय गणना गर्ने साधन मात्र नभई नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ स्वरूपसहित आफ्नो यात्रा अघि बढाएको घोषणा गरेको छ ।
संस्थापक विरजन महर्जनका अनुसार नेपाली पात्रो केवल मिति हेर्ने एप मात्र नभई नेपाली परम्परा, मूल्य–मान्यता र साझा पहिचानलाई पुस्तौँदेखि देश–विदेशसम्म जोड्ने एक जीवन्त सांस्कृतिक माध्यम हो ।
उहाँले भन्नुभयो, “हामी नेपाली पात्रोलाई बहुउपयोगी जानकारी, सिर्जनशील अभिव्यक्ति, कला प्रवर्द्धन र प्रविधिको संयोजनमार्फत विश्वभर रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र पहिचानसँग अझ मजबुत रूपमा जोड्ने प्लेटफर्मका रूपमा विकास गर्दै लैजानेछौँ ।”
यसै क्रममा नेपाली पात्रोले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । नयाँ लोगोमा नेपाली अक्षर ‘ने’ को अमूर्त रूप प्रयोग गरिएको छ, जसले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । यसले समयको निरन्तर परिवर्तन र प्रवाहलाई पनि प्रतिनिधित्व गर्ने संस्थाले जनाएको छ ।
कम्पनीका अनुसार यो परिवर्तन केवल दृश्य सुधार मात्र नभई नेपाली पात्रोको मूल उद्देश्य—नेपालीपनसँगको गहिरो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास हो ।
नेपाली पात्रोले आगामी दिनमा संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एउटै प्लेटफर्ममा समेट्दै प्रयोगकर्तालाई अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।