शंकर केसी
सल्यान, वैशाख ११ गते । सल्यानको कपुरकोटमा अन्तरनिकाय सहकार्यको नयाँ अभ्यास सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य बढाउने उद्देश्यले कपुरकोट गाउँपालिकामा अन्तरक्रिया तथा पूर्वबजेट छलफल सम्पन्न भएको हो । साथै आगामी वर्षका लागि साझा योजना पनि तय गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको संयोजकत्वमा सम्पन्न बैठकले अन्तरनिकाय सहकार्यको ढाँचा तथा प्राथमिकताहरू समेत निर्धारण गरेको छ । बिहीबार भएको बैठकमा गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र सल्यान, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ, सब–डिभिजन कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूबीच जनसरोकारका विषय, अनुसन्धान तथा विकासका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार छलफलले आगामी वर्ष सहकार्य गर्न सकिने प्रमुख क्षेत्रहरूको प्राथमिकता तय गरेको छ ।
छलफलबाट विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ । गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र र राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमको सहकार्यमा हरेक वर्ष जेठ महिनामा “रासायनिक विषादी न्यूनीकरण सप्ताह” सञ्चालन गरिने भएको छ । त्यस्तै अदुवाबाली अनुसन्धान कार्यक्रमसँग मिलेर ट्राइकोडर्मा (जैविक ढुसी) उत्पादन तथा विस्तार कार्यक्रम आगामी आर्थिक वर्षमा समावेश गरिनेछ ।
गैरसरकारी संस्था दलित विकास समाज नेपालको सहकार्यमा जलवायु अनुकूल योजना निर्माण गर्ने तयारी गरिएको छ । साथै आइपिएस नेपालको सहयोगमा “यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वास्थ्य प्रणाली सुदृढीकरण” कार्यक्रम कपुरकोटमा कार्यान्वयन गर्ने प्रारम्भिक समझदारी भएको छ ।
यस्तै वनस्पति अनुसन्धान केन्द्रसँगको सहकार्यमा कपुरकोट गाउँपालिकाको ‘बायोडाइभर्सिटी प्रोफाइल’ तयार गरिने वैज्ञानिक अधिकृत डा. पाठकले बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ, सब–डिभिजन कार्यालय र गाउँपालिकाको साझेदारीमा “कोसेली घर” सञ्चालन गर्ने निर्णय भएको छ । यसका लागि गाउँपालिकाले बीउ पुँजी उपलब्ध गराई सार्वजनिक–निजी साझेदारी मोडेलमा कार्यक्रम अघि बढाइनेछ ।
सामुदायिक वनसँगको सहकार्यमा मागमा आधारित आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, पशुपालन प्रवर्धनका लागि अम्रिसो खेती विस्तार गर्ने तथा मिचाहा वनस्पति बनमाराबाट जैविक मल उत्पादन कार्यक्रम पाइलटिङका रूपमा सुरु गर्ने योजना पनि तय गरिएको छ ।
यसैगरी दलित विकास समाजसँगको सहकार्यमा चालु आर्थिक वर्षमै “कपुरकोट गाउँपालिका युवा ऐन” निर्माण गरिने भएको छ । साथै गाउँपालिकाभित्र रहेको ‘बेरोजगार बैंक’ अद्यावधिक गरी आवश्यक जनशक्ति सोही बैंकमार्फत ज्यालादारीमा परिचालन गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।
सहकार्यलाई निरन्तरता दिन प्रत्येक त्रैमासिक रूपमा साझेदार निकायबिच समन्वय बैठक बस्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरू, वनस्पति अनुसन्धान केन्द्र, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, दलित विकास समाज सल्यान, सब–डिभिजन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।