प्रेमराज सिम्खडा
मन्त्रीपरिषद्को निर्णयपछि महावै गाउँपालिका मात्र होइन, कालीकोटका नागरिकसमेत खुसी भएका छन् । रासकोट नगरपालिका–८ का चतुर्भुत न्यौपानेले प्रदेश सरकारले कालीकोटको खास समस्याको राम्रोसँग अध्ययन गरेको बताउनुभयो । यसअघि महावै केन्द्र सडक जोड्नका लागि सेरावाडा–पात्माघाट सडक निर्माणका लागि ५१ करोड रुपियाँ बजेट सुनिश्चित भएसँगै ठेक्कासमेत भइसकेको थियो ।
यसमा प्रदेश सरकारले १० करोड विनियोजन गरेको छ भने बाँकी रकम विश्व बैङ्कले व्यवस्थापन गर्ने छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँपालिकाको केन्द्रसँग सडक नपुगेको कालीकोटको एक मात्र महावै गाउँपालिका भएकाले त्यसलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले प्रदेशको बजेट र सङ्घ सरकारसँगको समन्वयमा अन्य स्थानीय तहमा पनि सडक विस्तार गर्ने प्रदेश सरकारको अभियान जारी रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकार र विश्व बैङ्कको लगानी कर्णाली राजमार्गदेखि महावै गाउँपालिकाको केन्द्र जोड्ने पादमघाटसम्मको छ किलोमिटर सडक निर्माणका लागि ठेक्का भएर काम सुरु गर्ने तयारीमा छ ।
महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले प्रदेश सरकारले यहाँको समस्या राम्रोसँग सम्बोधन गरेको भन्दै यसरी सङ्घ सरकारले मन्त्रीपरिषद्बाट निर्णय भएमा काम गर्न थप सहज हुने बताउनुभयो । प्रदेश सरकार महावैको समस्या कठिन भौगोलिक अवस्थाबारे जानकार भएकाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । उहाँका अनुसार अब महावै गाउँपालिकाको केन्द्रसँग जोडिनेमा सबै आशावादी छन् ।