सुधा देव
भारदह (सप्तरी), वैशाख ११ गते । शासन सत्ता फेरिए पनि सप्तरीका जनताको जीवनशैलीमा अपेक्षित परिवर्तन आएको छैन । विपन्नदेखि मध्यम वर्गका परिवारसम्मको जीवनयापन झन् कठिन बन्दै गएको छ । गरिबीको समस्या दिनप्रतिदिन गहिरिँदै गएको स्थानीयवासी बताउछन् ।
नयाँ सरकार आएपछि सहज जीवनयापन गर्न पाइएला भन्ने आशा बोकेका सप्तरीवासी अहिले महँगीको चपेटामा परेर समस्या भोग्न बाध्य भएका छन् । अहिले खाद्यान्न, पेट्रोलियम पदार्थ, लत्ताकपडा लगायतका वस्तुमा मूल्य वृद्धि भएपछि दैनिक खर्च धान्न कठिन भएको राजविराज नगरपालिका–१ रामटोलकी ६० वर्षीया पारो देवी रामले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी मुसहर समुदायले दिनदिनै मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । छ जनाको परिवारमा कमाउने एक जना मात्र भएकाले आम्दानी सीमित छ, खर्च धेरै छ । सरकार परिवर्तनसँगै बढेको महँगीका कारण परिवार धान्न पहिलेभन्दा अहिले झन् कठिन भएको छ ।”
पछिल्लो समयमा मूल्य वृद्धिले जनताको अवस्था झन् कठिन बनाएको सोही ठाउँकी कपुरी देवी रामले बताउनुभयो । उहाँले भन्नुभयो, “आम्दानी एक पैसा पनि बढेको छैन तर महँगी भने अत्यधिक बढेको छ । कसरी परिवार चलाउने भन्ने अन्योलमा छु, कहिलेकाहीँ भोकै बस्नुपर्ने बाध्यता हुन्छ ।”
विपन्न र निम्न वर्गका जनताले सहज रूपमा जीविकोपार्जन गर्न पाउने वातावरण बनाउन तथा बढ्दो महँगी नियन्त्रण गर्न सरकार जिम्मेवार हुनुपर्ने राजविराज–२ का बुद्धिजीवी पुरुषोत्तम देवले बताउनुभयो ।
उहाँका अनुसार, मूल्य वृद्धिका कारण सर्वसाधारणले सास्ती भोगिरहेका बेला सीमा नाकामा कडाइ गरिँदा सस्तो सामान खरिद गर्ने विकल्प पनि बन्द भएको छ, जसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई झन् समस्या थपेको छ ।