केदार तिमल्सिना
बनेपा, वैशाख ११ गते । स्थानीय तहमा अस्पताल निर्माणको कामले पूर्णता नपाउँदा सर्वसाधारण आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सरकारले स्थानीय तहमा पाँच वर्ष पूरा हुँदा पनि आधारभूत अस्पताल पूरा हुन सकेको छैन । सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामका एकै साथ शिलान्यास गरेको थियो ।
सरकारले आव २०७७/७८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३९६ वटै स्थानीय तहलाई पत्राचार गर्दै दुई वर्षभित्र भवन निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । सरकारले दुई वर्षभित्र अस्पताल बनाउने योजना अघि बढाए पनि हालसम्म पनि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा अस्पताल पूरा हुन सकेका छैनन् भने भवन निर्माण भएका स्थानीय तहमा अस्पताल सञ्चालन हुन सकेको छैन ।
हालसम्म जिल्लाको धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन निर्माण भए पनि धुलिखेलमा अस्पताल सञ्चालन गर्ने भवनमा हाल स्वास्थ्य चौकी सञ्चालन गरिएको छ । चौकीबाट दैनिक फरक फरक रोगका विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।
बेथानचोक गाउँपालिकामा भवनको काम सकिए पनि अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण व्यवस्थापनका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले अस्पताल भवनको काम एक वर्षअघि नै सकिए पनि सङ्घीय सरकारबाट भवन निर्माणबापतको ७० लाख रुपियाँ आउन बाँकी रहेको बताउनुभयो ।
जिल्लाको महाभारत, खानीखोला, चौँरीदेउराली, भुम्लु गाउँपालिका, मण्डनदेउपुर नगरपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम भइरहेको छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले अस्पतालका लागि भवन निर्माण अन्तर्गत ६० प्रतिशत काम सकिएको बताउनुभयो । निर्माण व्यवसायीले पेस गरेको बिलका आधारमा सङ्घीय सरकारसँग बजेट माग गर्नुपर्ने व्यवस्थाका कारण सङ्घीय सरकारले बजेट माग गरेको छ महिनासम्म पनि बजेट नपठाउँदा निर्माण व्यवसायीले काममा ढिलाइ गर्ने गरेको गुनासो गर्नुभयो ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले मन्त्रालयले अस्पताल भवन निर्माणका लागि बजेट अभाव नहुने बताए पनि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्ने गरेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीका कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताउनुभयो । जिल्लाको भुम्लु गाउँपालिकामा अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले वैशाखभित्र हस्तान्तरण भइसक्ने गाउँपालिकाले जनाएको छ । चौँरीदेउराली गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको काम असारभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको छ । गाउँपालिकाले असारभित्र भवनको काम सकिए पनि घेरा, पर्खाललगायत केही काम बाँकी रहने जनाएको छ ।
मण्डनदेउपुर नगरपालिकामा सञ्चालन गरिने आधारभूत अस्पताल भवनको काम धमाधम भइरहेको छ । निर्माण व्यवसायीसँग असारभित्र भवनको काम सक्ने सम्झौता अनुसार हालसम्म संरचना निर्माणको काम सकिएको र रङरोगनलगायतका काम बाँकी रहेको छ । यस्तै गत वर्ष असोज दोस्रो साताको बाढीका कारण रोसी गाउँपालिकाको अन्तिम चरणमा रहेको अस्पताल भवन बगाएपछि अस्पताल निर्माणका लागि अर्को जग्गाको पहिचान गरेको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले आधारभूत अस्पताल निर्माणका लागि वडा नम्बर २ मा जग्गाको पहिचान गरिएको बताउँदै जिल्ला तहबाट निर्णय गर्न र मन्त्रालयमा पठाउन बाँकी रहेको बताउनुभयो । उहाँले असारभित्र जग्गा प्राप्ति गरिसक्ने बताउनुभयो ।
यसै गरी पनौती नगरपालिकामा अस्पताल भवन निर्माणका लागि मन्त्रालयबाट कुनै बजेट नआएका कारण भवन निर्माणको काम भएको छैन । नगरप्रमुख रामशरण भण्डारीले नगरपालिकालाई छुट्टै भवन निर्माणका लागि कुनै बजेट नआएका कारण भूकम्पका समयमा निर्माण गरिएको भवनबाट सोमबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।
उहाँले नगर अस्पताल सञ्चालनका लागि प्रदेश सरकारबाट एक्सरे र प्रयोगशालाका लागि ४० लाख रुपियाँ विनियोजन गरिएको बताउनुभयो । जिल्लाको बनेपा नगरपालिकाले कोभिडपछि वडा नम्बर ४ मा रहेको नाला स्वास्थ्य चौकीको भवनबाट १५ शøयाको अस्पताल सञ्चालन गरेको छ । पाँचखाल नगरपालिकाले आधारभूत अस्पतालका लागि वडा नम्बर ७ मा जग्गा प्राप्ति गरे पनि प्राथमिक स्वास्थ्य केन्द्रबाट पाँच शय्याको अस्पताल सञ्चालन गरेको छ । मण्डनदेउपुर नगरपालिकाले पनि कोभिडपछि पाँच शय्याको आफ्नै अस्पताल सञ्चालन गरेको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिकामा प्रादेशिक अस्पताल रहेकाले छुट्टै आधारभूत अस्पताल निर्माण गरिएको छैन भने तेमाल गाउँपालिकाले अस्पताल निर्माणका लागि जग्गा प्राप्त गर्न नसकेकाले अस्पतालको काम अघि नबढाएको जनाएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको धुलिखेल नगरपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिकामा अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो ।
सरकारले पाँच शøयाको अस्पताल निर्माणका लागि सात करोड १० लाख ९८ हजार, १० शय्याको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शय्याको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रुपियाँ विनियोजन गरेको छ ।