काठमाडौँ, फागुन १० गते । प्रतिनिधि सभा चुनाव नजिकिएसँगै राजनीतिक दलहरूले कला क्षेत्रको विकासका लागि पनि आआफ्नो घोषणापत्रमा चासो देखाएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा विभिन्न दलले कलासंस्कृति क्षेत्रलाई विभिन्न तरिकाले सम्बोधन गरेका छन् ।
‘समुन्नत नेपाल : सम्मानित नेपालीको मूल ध्येय’ बोकेको नेपाली कांग्रेसले आफ्नो ‘प्रतिज्ञापत्र’ मा भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रनिर्माणको अपरिहार्य तत्व मानेको छ । भाषा, साहित्य, कलासंस्कृतिको विकासमा मानवीय मूल्यको संरक्षण र सामाजिक लोकतन्त्रको प्रवर्धनमा मद्दत पुग्ने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ । नेपालमा भएका सबै जनजातिका भाषा, साहित्य, कलासंस्कृतिको संवर्धन गरी बहुवादमा आधारित समुन्नत नेपाल निमार्ण गर्ने सङ्कल्प गर्नेलगायतका कुरा उल्लेख छन् । त्यस्तै सांस्कृतिक सम्पदालाई केवल परम्पराका रूपमा मात्र हेरिँदा यसलाई आधुनिक अनुभवमा आधारित अर्थतन्त्र र रोजगारीसँग प्रभावकारी रूपमा जोड्न नसकिएको प्रतिज्ञापत्रमा जनाइएको छ । विभिन्न आधिवासी जनजातिको मौलिक परम्परा, रैचाने ज्ञान, सिप, गुठी एवं शिल्पीहरूको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार संरक्षणका लागि थुप्रै कानुनी र संस्थागत सुधार गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । सांस्कृतिक धरोहरको संरक्षण र गुठी प्रणालीको सुदृढीकरण, राष्ट्रिय कला, संस्कृति र बौद्धिक सम्पत्तिको सरंक्षण, आधुनिक शिक्षासँगै सम्यता संस्कृति र कलाको अध्ययनलगायतका कुरा पनि प्रतिज्ञापत्रमा समेटिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (एमाले) को ‘घोषणापत्र’ मा नेपाललाई रहस्मय हिमाली, आश्चर्यजनक प्रकृति, धार्मिक र सांस्कृतिक विशेषताले पर्यटनको अनुपम अवसर दिने उल्लेख गरेको छ । त्यस्तै वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवको आक्रामक प्रचारप्रसार गर्नुका साथै सो कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने घोषणपत्रमा जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ मा पशुपतिनाथ र लुम्बिनीका साथै काठमाडौँ उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा र रामजानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्धन गर्ने विशेष पूर्वाधार निर्माण गर्ने जनाइएको छ । वाचापत्रमा अन्तर्राष्ट्रियस्तरसम्म पहिचान नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाको प्रवर्धनमा जोड दिइने उल्लेख गरिएको छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीको ‘प्रतिबद्धतापत्र’ भित्र रहेको साहित्य, कला र संस्कृति खण्डमा समाजको ऐना मानिने साहित्य, कला र संस्कृतिको विकासमा विशेष ध्यान दिइने उल्लेख गरिएको छ । मौलिक कला, साहित्य, संस्कृति, लोकदोहरी, गीतसङ्गीत र चलचित्रको संरक्षण एवं प्रवर्धन गर्न र विद्वान्, वैज्ञानिक, विशेषज्ञ, कलाकार, साहित्यकार, संस्कृतिविद्लगायत राष्ट्रका प्रतिभाको सम्मानसहित उनीहरूको प्रतिभालाई राष्ट्रनिर्माणमा सदुपयोग गर्न पहल गरिने जनाइएको छ । सांस्कृतिक चेतना बढाउने
लेखक, कवि, चलचित्रकर्मी, सञ्चारकर्मी, चित्रकार, मूर्तिकार, गीतकार, नर्तक–नृत्याङ्गनालगायत विविध विधाका कलाकारका साथै नयाँ नयाँ आविष्कार गर्ने वैज्ञानिक र प्राविधिकलाई पुरस्कृत गरी प्रोत्साहित गर्नका लागि आवश्यक पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
उज्यालो नेपाल पार्टीको ‘निर्वाचन प्रतिबद्धतापत्र’ भित्र रहेको मनोरञ्जन क्षेत्र खण्डमा स्वायत्त बोर्ड : स्वायत्त चलचित्र बोर्डमार्फत समग्र चलचित्र क्षेत्रमा पारदर्शिता र व्यावसायिकता सुनिश्चित गरिने उल्लेख गरिएको छ । साथै चलचित्रलाई औद्योगिक मान्यता दिई सहुलियत सुविधा र अन्तर्राष्ट्रिय बजार विस्तार गरिने पनि जनाइएको छ । अघिल्लो चुनावको तुलनामा यस पटक कला तथा संस्कृतिलाई धेरै जसो पार्टीले घोषणापत्रमा स्थान दिएको देखिएको छ । कला र संस्कृतिलाई राजनीतिक दलले गम्भीरतापूर्वक लिन थाल्नु सुखद कुरा पनि हो । यस पटकको घोषणापत्रमा उल्लेख गरिएकामध्ये कति कार्यक्रम चुनावपछि पनि सम्झिइन्छ र कति कार्यक्रम कार्यान्वयनका लागि पहल हुन्छ त्यो भने हेर्न बाँकी छ ।