काठमाडौँ, फागुन ३ गते । पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराणलगायतका ग्रन्थमा उल्लिखित छ ।
संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार महाशिवरात्रि नेपालको राष्ट्रिय पर्व हो । यसले संसारभरिका हिन्दु धर्मावलम्बीमा अत्यन्तै ठुलो श्रद्धा सम्मान रहिआएको छ । भगवान् पशुपतिनाथको मन्दिर नेपालमा भएका कारण नेपालमा हुने महाशिवरात्रि पर्व कस्तो हुन्छ भनेर विश्वले हेरिरहेको उहाँले बताउनुभयो । महाशविरात्रिमा नेपाली मात्र होइन छिमेकी मुलुक र त्योभन्दा टाढा मलेसिया, सिङ्गापुर र सात समुद्रपारिका मान्छे पनि भगवान्को दर्शन गर्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्दिर दर्शन गर्न आएका दर्शनार्थीलाई पूजाआजालगायतका कुरामा सजिलो पार्न सक्यो भने यो भक्तजनको सङ्ख्या बढ्दै जान्छ । यी कुरामा सम्बन्धित निकायको यथोचित ध्यान जान सकेको छैन ।”
पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताउनुभयो । अघिल्लो वर्ष भारतको प्रयागमा मेला लागेको हुनाले केही साधुसन्त घटेका थिए भने यस वर्ष चार हजार साधुसन्त आउने अनुमान उहाँको छ । करिब दुई हजारभन्दा बढी स्वंयसेवकलाई परिचालन गरिने पर्वमा यस वर्ष पशुपतिमा २० लाख श्रद्धालुले प्रत्यक्ष दर्शन गर्ने अनुमान उहाँको छ ।
महाशिवरात्रिका दिन बिहान २:०० बजे नै पशुपतिनाथ मन्दिरको चार वटै ढोका खुला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लामको व्यवस्था गरिएको उहाँले बताउनुभयो । दुईदेखि सवा दुई घण्टाभित्र दशनार्थीले दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सवारी आवागमनलाई व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार शिवरात्रि अवधिभर भक्तजनलाई सरल र सहज आवागमनको व्यवस्था मिलाइएको छ । सिफल चौर, गुह्वेश्वरी, पशुपति क्षेत्र विकास कोषको कार्यलय, तिलगङ्गा आँखा अस्पतालको कोरिडर, वनकाली क्षेत्रलगायतका स्थानमा पार्किङ व्यवस्था मिलाइएको छ ।
पाशुपति क्षेत्रमा मांस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउनसमेत कोषले सचेत गराएको छ । दुई वर्षअघिदेखि भाङ धतुरो निषेध गरिएको थियो । अहिले पनि त्यसैलाई प्राथमिकता दिएर गाँजा खानेलाई प्रहरीद्वारा कारबाही गरिने सापकोटाले जानकारी दिनुभयो ।