• २९ माघ २०८२, बिहिबार

सिर्जनाको त्रिवेणीमा लाकोजू

blog

काठमाडौँ, माघ २९ गते । पुण्यमाता र रोशी नदीको पावन सङ्गम, जहाँ ढुङ्गा ढुङ्गामा इतिहास मुस्कुराउँछ र हरेक बस्तीमा प्राचीन संस्कृतिको छाप छ, त्यही पवित्र भूमि पनौतीको काखमा जन्मिनुभएका एक शब्दशिल्पी हुनुहुन्छ सूर्यप्रसाद लाकोजू  । २०५४ सालमा ‘फूल’ कविताबाट सुरु भएको उहाँको सिर्जनात्मक यात्रा अहिले एउटा यस्तो सागर बनेको छ, जहाँ साहित्य, शिक्षा र संस्कृतिका अनगन्ती लहर एकसाथ ठोकिन्छन् ।

पनौती एउटा भूगोल मात्र होइन, यो त एउटा खुला सङ्ग्रहालय हो । आफू जन्मेहुर्केको माटोप्रतिको अगाध प्रेमले नै उहाँलाई अनुसन्धानको मार्गमा डो¥यायो । ‘पनौती’, ‘पनौतीको बाह्रवर्षे मकर मेला’ र ‘पनौतीका केही जात्रापर्व’ जस्ता गहकिला कृति लेखेका उहाँलाई केवल ‘लेखक’ मात्र नभई ‘सांस्कृतिक अभियन्ता’ का रूपमा चिनिन्छ ।

लाकोजूको सिर्जनात्मक संसार निकै फराकिलो छ । उहाँका कविताहरू– ‘स्पर्श’, ‘मेरो मन मेरो मित’, ‘घामको चुम्बन’ र ‘घामको पर्खाल’ आदिले मानव मनका सूक्ष्म झङ्कारलाई प्रस्तुत गर्छन् । उहाँले प्रेमको मधुरता मात्र होइन, समाजका विसङ्गति र मान्छेले भोग्नुपर्ने अस्तित्वको सङ्घर्षलाई पनि उत्तिकै कुशलतापूर्वक चित्रण गर्नुभएको छ ।

अझ हाइकु जस्तो सूक्ष्म विधामा त उहाँको विशेष दक्खल देखिन्छ । ‘गुराँस फुल्ने मन’ र ‘अक्षरका स्वरहरू’ मा उहाँले अक्षरभित्र सिङ्गो जगत्लाई कैद गर्ने जादुमयी सामथ्र्य देखाउनुभएको छ । त्यस्तै ‘सत्याग्रह’ जस्ता कथामार्फत उहाँले सामाजिक यथार्थको चित्रण गर्नुभएको छ । ‘भावनाका फूलहरू’ र ‘शाश्वत स्वरहरू’ जस्ता मुक्तकसङ्ग्रहले उहाँको दार्शनिक र वैचारिक पक्षलाई उजागर गरेका छन् । बालबालिकाका लागि उहाँले सिर्जना गरेका ‘कोपिला’ र ‘फुलै फूल’ जस्ता बालकविताले उहाँभित्रको एउटा कोमल र निष्कपट हृदयलाई पनि प्रस्ट्याउँछ ।

आफ्नो जीवनको ऊर्जावान् समय साहित्य, संस्कृति र शिक्षामा अर्पण गरेकै कारण उहाँले राष्ट्रियस्तरको ‘युवावर्ष मोती पुरस्कार’ र ‘चिसाप कृष्णराज कँडेल पुरस्कार’ जस्ता सम्मान प्राप्त गर्नुभएको छ । यी सम्मान उहाँको कडा परिश्रम र निष्ठाका साक्षी हुन् । सूर्यप्रसाद लाकोजू आफ्नो संस्कृतिसँग जोडिएर सिर्जनाको आकाशमा उडिरहनुभएको छ । पनौतीका जात्रा–पर्वको रन्को, रोशी र पुण्यमाताको कलकल सङ्गीत र समाजप्रतिको उत्तरदायित्व नै उहाँको लेखनको मूल ऊर्जा हो । उहाँको सक्रियताले नेपाली साहित्य र विशेष गरी काभ्रेली वाङ्मयको श्रीवृद्धिमा जुन टेवा पुगेको छ, त्यो इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । उहाँ केवल एक व्यक्ति नभई आफैँमा एउटा संस्था र प्रेरणाको स्रोत बन्नुभएको छ ।