• २ वैशाख २०८३, बुधबार

प्रधानमन्त्री कप : आर्मी र मधेश विजयी

blog

मधेशका खेलाडी ।

काठमाडौँ, वैशाख २ गते । शीर्ष टोली त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेको छ । 

जनकपुरमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई एक विकेटले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा मधेशले नेपाल पुलिस क्लबलाई चार विकेटले हरायो ।

पुलिसलाई हराएको मधेश जय ट्रफी प्रतियोगिताका लागि छनोट भएको छ । जितसँगै ११ अङ्क बनाएको मधेशले चौथो स्थानमा रह्यो । यस्तै हार खेपेपनि लुम्बिनी र पुलिसले समेत जय ट्रफीमा स्थान बनाएको छ ।

नौ अङ्क बनाएको लुम्बिनीले समान अङ्क जोडेको गण्डकी प्रदेशलाई नेट रनरेटमा पछि पारेको हो । शीर्षस्थानमा रहेको आर्मीले १७, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले १२ र तेस्रो स्थानमा रहेको एपिएफको ११ अङ्क छ । आर्मीले सुदूरपश्चिमले यसअघि नै फाइनलमा स्थान बनाई सकेका थिए । 

जनकपुरमा जितका लागि लुम्बिनीले दिएको एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । 

यस्तै वीरगन्जमा जितका लागि पुलिसले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको मधेशले १४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि पहिले ब्याटिङ गरेको पुलिस ४०.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।