इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २ गते । नेपाली सेनाले सञ्चालन गरेको चौंथो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली बुधबार पाल्पा पुगेको छ ।
ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्धन, इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्य सहित चौंथो संस्करणको पदयात्रा गत चैत २७ गते गोरखा दरबार बाट सुरु भएको थियो ।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी नेपाली सेनाको टोली तनहुँको सटिघाट, तनहुँसुर, ध्यानुङ्ग देउराली, स्याङ्जाको साँखर केलादी हुँदै छैठौं दिन रामपुर ३ को केलादीबाट पाल्पा प्रवेश गरेको हो ।
तनहुँबाट स्याङ्जाको चापाकोट–६, केलादी आइपुगेको नं। २ राजदल गणले पाल्पा बाट गएको दि फेमस महिन्द्रदल गणलाई ऐतिहासिक झण्डा हस्तान्तरण गरेको थियो ।
राष्ट्रिय झण्डाको साथमा नेपाल एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी ९श्रीनाथ, कालिबक्स, बर्दवाणी गण, सबुज, पुरानो गोरख० र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा र टर्च सहित पदयात्रामा निस्किएको टोलीलाई पञ्चे बाजा सहित जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुले केलादीमा भव्य स्वागत गरेका थिए ।
पदयात्रामा सहभागी टोलीलाई लखन पार्क, खोप्टार, सदावर्त र देविस्थानमा विभिन्न क्लव तथा समुहले फूलमाला सहित स्वागत गरेका थिए । रामपुर नगरपालिकाले वडा नं।४ देविस्थानमा पदयात्रामा सहभागी टोलीलाई कार्यक्रम गरी स्वागत सहित सम्मान गरेको छ । पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सन्दीप रानाले गोरखा जितगढी पदयात्रा पूर्खाहरुले रचेको गौरवमय इतिहासको स्मरण भएको बताउनुभयो । उहाँले भन्नुभयो “जब सम्म गौरवमय इतिहासको राम्रो संग स्मरण गर्न सक्दनौ । तब सम्म हामीले सुनौलो भविष्यको रेखा पनि कोर्न सक्दैनौ । गोरखा जितगढी यात्रा पूर्खाहरुको गौरवमय इतिहासको स्मरण हो ।”
नेपाली सेनाले राष्ट्र जोगाउन खेलेको भुमिकाको चर्चा गर्नु हुँदै रानाले पुर्खाले कोरेको इतिहासलाई जीविकासँग जोड्नु आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक कोट, गढी र किल्लाहरुलाई जोड्ने गरी गौरव पर्यटन पूर्वाधार निर्माणको योजना अघि सारेको समेत जानकारी दिनुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नेपाली सेनाले पदयात्राको माध्यम बाट नेपाल र नेपालीलाई चिनाउन सफल भएको बताउनुभयो । ऐतिहासिक किल्ला र गढीको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । ऐतिहासिक धरोहरहरुको पहिचान र संरक्षणमा राज्य जुन भुमिका खेल्नु पर्ने हो त्यस अनुसार काम नभएको बताउनुभयो । ऐतिहासिक गढी लगाएत अन्य संरचनाहरुको संरक्षण गर्दै सहज रुपमा पुग्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले पदयात्राले भावि पुस्ताहरुमा राष्ट्रिय एकताको भावना अभिवृद्धिमा गर्न थप मद्दत गर्ने बताउनुभयो । श्री नं। २२ बाहिनीका सहायक रथी विमलराज शर्माले पदयात्राको बारेमा जानकारी दिदै इतिहासको सम्वर्धन तथा प्रवर्धन गरी भावी पुस्ताहरुको लागि हस्तान्तरण गर्न, राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउने, नागरिक सैनिक सम्बन्ध सुमधुर बनाउने उद्देश्यले पदयात्रा निरन्तरता दिदैँ आएको जानकारी दिनुभयो ।
पदयात्रामा ५३ जना सहभागी रहेको नेपाली सेनाले जनाएको छ । सहभागी टोलीले पाल्पाको ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको सेनाले ६ दिन लगाएर यात्रा गर्ने छ । ११ औं दिनको पदयात्रा तीन सय पाँच किलोमिटर दुरी पार गर्दै वैशाख ७ गते जितगढी पुगेर सकिने छ ।
नेपाली सेनाले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन २०७९ बाट पदयात्रा सुरु गरेको थियो । सेनाले पाल्पाका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको ६ दिन लगाएर पदयात्रा गर्ने दी फेमस महिन्द्र दल गणका गणपति शान्त कुमार थापाले जानकारी दिनुभयो ।
पदयात्रा टोली बुधबार केलादीघाट बाट देवीस्थान, श्रीनगर होटल, दर्छा सीताकुण्ड, टुनी भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा, पिलुवा जब्गादी हुँदै विरकोट सम्मको ३५ किलोमिटर यात्रा गर्ने छ । विहिबार विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी, हुँदै माथागढी सम्मको ३९ किलोमिटर यात्रा गर्नेछ । शुक्रबार माथागढी, गोठादी, झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी, दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ । शनिबार गते प्रभास, लामडाँडा, बर्तुङ, तानसेन, काजीपौवा, पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि बास बस्ने छ ।
सोही दिन तानसेनका प्रमुख स्थानहरुको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । आइतबार प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान सम्मको ३२ किलोमिटर यात्रा गर्ने छ ।
सोमबार नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजयउत्सवको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयउत्सवमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।