• १३ फागुन २०८२, बुधबार

लालपुर्जा दिनेलाई मत

blog

दैलेख सदरमुकामस्थित रहेको नमुना बस्ती । तस्बिर : यामराज विष्ट

पञ्चकोशी समाचारदाता

पञ्चकोशी (दैलेख), फागुन १३ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।

दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै २०६० सालदेखि अस्थायी बसोवास गर्दै आएका नमुना बस्तीका बादी समुदायले लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उनीहरूले निर्वाचनको मिति नजिकिएसँगै लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् ।

वर्सौंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको नमुना बस्तीका कमला नेपालीले गुनासो गर्नुभयो । उहाँले चुनावका बेला मात्र घरदैलोमा पुगेर नेताहरूले लालपुर्जा दिन्छौँ भन्छन् तर चुनाव जितेर गएपछि फर्केर पनि नआएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समयमा बर्सेनि पर्ने अविरल वर्षाका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने डर रहेको बताउनुभयो । उहाँले सुरक्षित बासको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिनुपर्ने माग गर्नुभयो ।

यस्तै पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा चिन्ता बढेको दुर्गा बादीले बताउनुभयो । उहाँले लालपुर्जा नहुँदा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, अनुदान प्राप्त गर्नलगायत अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले यो ठाउँ भिरालो र पहिरो आइरहने भएकाले जोखिम बढिरहेको भन्दै लालपुर्जा दिनेलाई मत दिने बताउनुभयो । उहाँले यसको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिनुपर्ने बताउनुयो । 

यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरूलाई त्यसको व्यवस्था गर्नुपर्ने नमुना बस्तीका मनु नेपाली बताउँदै लालपुर्जा पाउने सपना सपनामै सीमित भएको बताउनुभयो । करिब ७० घर बढी घरधुरी नमुना बस्तीमा रोजगारी, शिक्षा, स्वास्थ्य खानेपानीलगायतका समस्या त्यतिकै रहेको नमुना बस्तीमा १५० हाराहारीमा मतदाता रहेका छन् । 

दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।