अजय शाह
गौशाला (महोत्तरी), फागुन १३ गते । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ–टोल यतिबेला जोगिराको मधुर धुनले गुञ्जिन थालेका छन्। पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा सोमबार परिक्रमा यात्रामा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले होली खेलेसँगै मिथिलाञ्चलमा होली पर्व विधिवत रुपमा सुरु हुने परम्पार रहेको छ।
“किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी... जोगिरा सररर...!”
यस्ता पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र ख्यालठट्टाले भरिएका मैथिली जोगिरा अचेल साँझ पर्नासाथ ढोल, मृदङ्ग, तासा, डम्फु र झ्यालीको तालमा महोत्तरी सहित मधेसको प्राय ग्रामिण भेगको चोक चौराहामा घन्किँदा गाउँ नै सङ्गीतमय बन्ने गरेको छ। होली पर्वको स्वागतस्वरूप सुरु भएको यो परम्परागत गायनले स्थानीय बस्तीमा उल्लास र आत्मीयता थपेको छ।
गौशाला नगरपालिका– ५ का धनबीर कुशवाहा प्रत्येक साँझ डम्फु र झ्याली समातेर गाउँको चोकमा पुग्नुहुन्छ। उहाँसँगै शम्भु महतो, दामोदर यादव लगायतका स्थानीयवासी पनि भेला हुनुहुन्छ। करिब सात बजेबाट सुरु हुने जोगिरा गायन राति अबेरसम्म चल्ने गर्दछ। “होली आउन लागेपछि जोगिरा नगाइ हुन्न,” कुशवाहाले भन्नुभयो, “यसले गाउँमा भाइचारा र सद्भाव बढाउँछ।”
गाउँघरमा बेलुकीको खाना सकिएपछि चोकमा जम्मा भएर सामूहिक रूपमा गाइने जोगिरा सुन्न बालबालिकादेखि बयोवृद्ध ज्येष्ठ नागरिकसम्म आकर्षित हुने गरेका छन्। कतिपय घरको आँगनबाटै गीत सुन्दै रमाउँछन् भने धेरैजसो प्रत्यक्ष सहभागी हुन्छन्।
औरही नगरपालिका–२ मा पनि यस्तै उत्साह देखिएको छ। वडाध्यक्ष दरेश यादव स्वयं होलैया भएकाले चोकमा बुढापाका सहित युवाहरुलाई सहभागी गराई जोगिरा गाउने गरेका छन्। स्थानीय धर्वेन्द्र यादवका अनुसार ५० भन्दा बढी युवा, वयस्क तथा ज्येष्ठ नागरिकको संयुक्त टोलीले वडालाई जोगिरा गाउँदै सङ्गीतमय बनाइरहेको छ। “होलीको निम्तोसँगै जोगिरा हाम्रो परम्परा हो,” उहाँले भन्नुभयो, “यसले पुस्ताबीचको सम्बन्ध बलियो बनाउँछ।”
महोत्तरीको भंगहा नगरपालिकामा पनि जोगिरा परम्परा जीवितै छ। वरिष्ठ पत्रकार गोपाल बरालका अनुसार एउटै समूहमा विभिन्न उमेर समूहका व्यक्ति भेला भई पौराणिक प्रसङ्ग, प्रेमभाव र हास्यव्यङ्ग्य मिसिएका गीत प्रस्तुत गर्ने चलन छ। “जोगिरा केवल गीत होइन, सामाजिक एकताको माध्यम हो,” उहाँले बताउनुभयो।
मिथिलामा बसन्त पञ्चमीदेखि सुरु हुने जोगिरा गायन होलीको अघिल्लो रातिसम्म जारी रहने परम्परा छ।
“मिथिलामे राम खेलैय होली...” जस्ता गीतले धार्मिक र सांस्कृतिक चेतना जगाउने काम गर्ने स्थानीय बताउँछन्। जोगिराले समाजमा प्रेम, सद्भाव र आपसी सम्मान अभिवृद्धि गर्ने विश्वास गरिन्छ।
यद्यपि, पछिल्लो समय आधुनिक ‘डिजे’ संस्कृतिको प्रभाव, भोजपुरी भड्किला गीत र मदिरा सेवनका कारण कतिपय स्थानमा जोगिरा परम्परामा असर परेको गुनासो पनि सुनिन्छ।
सम्सी गाउँपालिका पर्सा देवाडका विपिन विहारी यदुवीरले परम्परागत जोगिराको संरक्षणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। “हामीले आफ्नो भाषा, आफ्नै लय र शब्द जोगाउनुपर्छ,” उहाँले जोड दिनुभयो।
होली पर्वको पूर्व सन्ध्यामा गौशालाको रेडियो रुपान्तर मिडियाले जोगिरा प्रतियोगिता नै आयोजना गर्ने गरेको स्टेशन मेनेजर धनबीर महतोले जानकारी दिनुभयो । उहाँले यस वर्ष पनि फागुन १६ गते जोगिरा प्रतियोगिताको आयोजना गरिने तयारी रहेको बताउनु भयो । उहाँले समुदाय, स्थानीय तह र सुरक्षाको बन्दोबस्त मिलाउने प्रशासनबीच समन्वय भएमा यो सांस्कृतिक सम्पदा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
होलीको आगमनसँगै मिथिलाका गाउँ–गाउँमा पुनः जीवन्त बन्दै गएको जोगिरा परम्पराले यहाँको सांस्कृतिक पहिचानलाई उजागर गरेको छ।