खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), फागुन १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाउनुभएको छ ।
मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्ण रूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा मङ्गलबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालनासम्बन्धी राजनीतिक दलसँग भएको बैठकमा दलका नेताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहितालाई अक्षरशः पालना गर्ने सहमति पनि जनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो । यस्तै मतदानको दिन मतदान केन्द्रको वरिपरि निषेधित गरिएका गतिविधि नगर्ने/नगराउने कुरामा सबै राजनीतिक दल सहमत रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन भएपश्चात् मतपेटिका ढुवानी गरी ल्याउँदा तोकिएको सवारीसाधनमा बस्ने ठाउँको सीमिताका कारण सबै राजनीतिक दलका प्रतिनिधि एकैसाथ आउन नसक्ने अवस्था भए राजनीतिक दलले सहयोग गर्न आपसी सहमतिमा समन्वय गरेर एक जना साझा प्रतिनिधि मात्र पठाउन दल सहमत भएका छन् ।
यसै गरी मतपेटिका ढुवानीका लागि प्रयोग गरिने सवारीसाधनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, सुरक्षा निकायले तय गरेको सुरक्षित रुटमा रहेर मात्र ढुवानी गर्ने, ढुवानीका क्रममा हुने अनावश्यक ढिलाइ वा अवरोधलाई शून्यमा झार्न र तोकिएको समयमै मतगणना स्थलमा मतपेटिका बुझाउन सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरिएको उहाँले बताउनुभयो । बैठकले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिको पूर्ण पालना गर्ने, यस अवधिमा भौतिक रूपमा वा सामाजिक सञ्जालमार्फत कुनै पनि प्रकारको मत माग्ने वा प्रचार गर्ने कार्यलाई पूर्ण रूपमा रोकेर निर्वाचनको निष्पक्षता कायम राख्न सबै दलले आआफ्ना कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो ।
मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रियाभित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखि पठाइएको सानो हेलिकप्टर प्राप्त हुने भएकाले मतपेटिका र मतदान अधिकृतलाई मात्रै ल्याउने विषयमा पार्टीको सहमति रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।
हेलिकप्टरमार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासन/सुरक्षा निकायले अवस्था हेरी पैदल÷सडक मार्ग प्रयोग गरेर मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उहाँले बताउनुभयो ।