- जबसम्म नेपाली चलचित्र बाँचिरहने छ, ‘राते काइँला’ को त्यो अमर छवि हरेक दर्शकको हृदयमा एउटा ‘राँको’ बनेर बलिरहने छ ।
- उहाँ त एउटा काँचो माटो जस्तै कोमल हुनुहुन्थ्यो । उहाँ नयाँ कलाकारका लागि ‘खुला विश्वविद्यालय’ हो, जहाँ अभिनयका प्राविधिक पक्ष मात्र होइन, जीवन जिउने कला पनि सिकाइन्थ्यो ।
काठमाडौँ, माघ २५ गते । माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि मौन हुनुभएको छ । ६८ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा अन्तिम सास फेर्दै गर्दा उहाँले आफ्नो चार दशक लामो अभिनयको गौरवशाली अध्यायलाई पूर्णविराम लगाउनुभयो ।
सन् १९५७ मा दाङको माटोमा जन्मिनुभएका उहाँले आफ्नो सपनाको जग भने मुम्बईको भिड र ग्ल्यामरमा बसाल्नुभयो । अग्लो कद, गहुँगोरो वर्ण र हक्की स्वभावका उहाँ सुरुमा मोडलिङ र फुटबलको मैदानमा रमाउनुहुन्थ्यो तर नियतिले उहाँलाई अर्कै मञ्चका लागि तयार पारिरहेको थियो । सन् १९७७ मा प्रदर्शित भारतीय चलचित्र ‘साहब बहादुर’ बाट उहाँले चलचित्र जीवन सुरु गर्नुभएको थियो । त्यसपछि सन् १९८१ को बलिउडको हिट चलचित्र ‘एक दुजे के लिए’ मा अभिनयपछि उहाँको यात्राले काठमाडौँ आइपुग्दा एउटा यस्तो उचाइ लियो, जसलाई आजको पुस्ताले ‘लिजेन्ड’ मान्छ । उहाँ केवल एउटा कलाकारका रूपमा मात्र फर्किनुभएन, उहाँ त एउटा ‘संस्कृति’ बनेर फर्किनुभयो ।
नेपाली चलचित्रको इतिहास पल्टाउँदा एउटा यस्तो पात्र भेटिन्छ, जसले खलनायकलाई पनि नायकजत्तिकै सम्मानित र बौद्धिक बनायो । चलचित्र ‘चिनो’ को त्यो रातो आँखा भएको, कडा आवाजमा बोल्ने ‘राते काइँला’ । सुनील थापाभन्दा अगाडि खलनायक भन्नाले केवल कुटाइ खाने र दुष्ट काम गर्ने पात्र मात्र बुझिन्थ्यो तर उहाँले खलनायकीलाई एउटा ‘दर्शन’ दिनुभयो । उहाँले स्थापित गर्नुभयो, “खलनायक बन्नका लागि केवल शरीर मात्र होइन, शक्तिशाली व्यक्तित्व र सूक्ष्म मनोविज्ञान पनि चाहिन्छ ।” आज पनि गाउँघरमा कसैले कसैलाई डर देखाउनु पर्दा ‘राते काइँला’ को नाम लिइन्छ । यो नै एउटा कलाकारका लागि समयले दिएको सबैभन्दा ठुलो सम्मान हो ।
सुनील थापामा एउटा अचम्मको विरोधाभास थियो । पर्दामा देख्दा लाग्थ्यो, उहाँ क्रूरताको पर्याय हुनुहुन्छ । उहाँसँग धेरै मिल्ने साथी छायाकार तथा कलाकार गौरीशङ्कर धुजु भन्नुहुन्छ, “उहाँ त एउटा काँचो माटो जस्तै कोमल हुनुहुन्थ्यो ।” उहाँ नयाँ कलाकारका लागि ‘खुला विश्वविद्यालय’ हो, जहाँ अभिनयका प्राविधिक पक्ष मात्र होइन, जीवन जिउने कला पनि सिकाइन्थ्यो । आधा दर्जन जति चलचित्रमा सँगै काम गर्नुभएका कलाकार सरोज खनालका अनुसार नेपाली चलचित्र क्षेत्रले आज देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको छ । उहाँले भन्नुभयो, “उहाँ मेरो लागि एउटा अभिभावक नै हुनुहुन्थ्यो । उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएको थिएँ ।”
प्रियङ्का चोपडाको ‘मेरी कम’ मा कोच बन्दा होस् या मनोज वाजेपायीसँग ‘द फेमिली मैन’ मा अभिभावकको भूमिका वा तमिल र भोजपुरी चलचित्रका पर्दामा आफ्नो पसिना पोख्दा उहाँले सधैँ नेपाली कलाकारको स्वाभिमानलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ उभ्याउनुभयो । उहाँले प्रमाणित गर्नुभयो कि एउटा कलाकारको भूगोल हुँदैन, केवल भावना र समर्पण हुन्छ ।
मसाल, देउकी, तँ त सारै बिग्रिस नि बद्री, प्रेमगीत ३ यी केवल चलचित्रका नाम होइनन्, यी त सुनील थापाले बाँच्नुभएको १३८ वटा फरक फरक जिन्दगी हुन् । उहाँले आफ्नो अन्तिम समयसम्म पनि अभिनयलाई नै धर्म मान्नुभयो । प्रदर्शनको तयारीमा रहेका ‘पहाड’ र ‘राम नाम सत्य’ जस्ता चलचित्रले उहाँको अन्तिम कलाको झलक देखाउन बाँकी नै छ तर निर्देशकको अन्तिम ‘कट’ भन्दा पहिले नै उहाँले जीवनको पर्दा खसाल्नुभयो । आज नेपाली चलचित्रको पर्दा अलिकति धमिलो भएको छ । अब पर्दामा न त्यो डरलाग्दो हाँसो सुनिने छ, न त ती कडा संवाद नै तर जबसम्म नेपाली चलचित्र बाँचिरहने छ, ‘राते काइँला’ को त्यो अमर छवि हरेक दर्शकको हृदयमा एउटा ‘राँको’ बनेर बलिरहने छ । उहाँको अन्त्येष्टि आइतबार गरिने छायाकार धुजुले बताउनुभयो । मुम्बईबाट थापाको परिवार आउन ढिलाइ भएकाले आइतबार अन्त्येष्टि गरिन लागिएको उहाँको भनाइ थियो ।