• ३ वैशाख २०८३, बिहिबार

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

blog

जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित एक पुस्तक पसलको गोदाममा रहेको सामुदायिक विद्यालयको पाठ्यपुस्तक । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, वैशाख ३ गते । सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको बिक्रि केन्द्र(डिपो) मार्फत व्यवसायिले सिन्धुलीका लागि ल्याएका पाठ्यपुस्तक सम्बन्धित विद्यालयले धमाधम उठाइरहेका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ् उक्त विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक लगिसकेको जानकारी दिनुभयो ।

"विद्यालयलाई आवश्यक पर्ने जति पाठ्यपुस्तक ल्याएर थन्क्याई सकेका छौं,’ उहाँले भन्नुभयो, "वैशाख १५ गतेबाट विद्यालय भर्ना अभियान सुरु गर्छाैं । भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पाठ्पुस्तक उपलब्ध गराई बैशाख २१ गतेदेखि विद्यालयमा पढाई सुरु गर्ने तयारी गरेका छौं ।"

त्यस्तै कमलामाई नगरपालिका–४ स्थित कमला मावि ढुङ्ग्रेबासमा पनि धमाधम विद्यार्थीलाई पाठ्यपुस्तक वितरण कार्य भइरहेको छ । विद्यालयका प्रधानाध्यापक कमलेस चौधरी पाठ्यपुस्तक विद्यालयमा ल्याई सम्पर्कमा आएका विद्यार्थीलाई धमाधम वितरण भइरहेको बताउनुभयाे । समयमै विद्यार्थीले पाठ्यपुस्तक पाएकाले पठनपाठन कार्यमा सहज हुने उहाँको भनाइ छ । 

विद्यालय सञ्चालन अघि नै पाठ्यपुस्तक उपलब्ध हुँदा शिक्षक र विद्यार्थी दुबै उत्साहित देखिएका छन् । विगतमा शैक्षिक सत्र सुरु भइसक्दा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुने समस्या यो पटक टरेको छ । यो बर्ष विद्यालय सञ्चालन हुनुअघि नै पाठ्यपुस्तक आइपुगेको छ । पाठ्यपुस्तक समयमै आइपुगेकाले पठनपाठनमा सहज भएको विद्यालयले जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । 

त्यसो त सिन्धुली जिल्लामा सात वटा पुस्तक पसल तथा स्टेशनरी मार्फत सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक विक्री–वितरण भइरहेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित तिमल्सिना बुक्स एण्ड जनरल सप्लायर्सका सञ्चालक कमला तिमल्सिनाले भन्नुभयो, ‘मैले पनि प्रावि, निमावि र मावि गरी १३० वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक बिक्रि–बितर गर्दै आएको छु । अधिकांश विद्यालयले लगि सके । चार-पाँच वटाले लैजान बाँकी छ, ती विद्यालयले पनि चाँडै पाठ्यपुस्तक लैजान्छन् ।’

सिन्धुली जिल्लामा अभाव नहुने गरी पाठ्यपुस्तक आएको उहाँले सुनाउनुभयो । कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।