काठमाडौँ, वैशाख ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसियाली विकास बैँक (एडिबी)का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल सरकार र एडिबीबीच ‘डिजिटल’ रूपान्तरणका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको हो।
सो भेटवार्ताका क्रममा विशेषगरी ‘नेपालः डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
एडिबीका नेपाल निर्देशक कोस्वाले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारी निकायबिच समन्वय, नीतिगत स्पष्टता र प्रक्रियागत सरलता अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग थप सक्रिय सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले एडिबीको प्राथमिकतामा निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार, सूचना प्रविधि क्षेत्रको प्रवर्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरू रहेका स्पष्ट पार्नुभयो ।
डिजिटल अर्थतन्त्र विस्तार गर्न नेपालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण तयार गर्नुपर्नेमा कोस्वाले जोड दिनुभयो । नेपालमा प्रविधिमा आधारित उद्योगहरूको विकासले आर्थिक वृद्धिमा मात्र नभई युवाहरूलाई रोजगारी सिर्जनामा पनि ठुलो योगदान पुर्याउन सक्ने उहाँले धारणा राख्नुभयो ।
कोस्वाले नेपालका सम्भावनायुक्त क्षेत्रहरूको चर्चा गर्दै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई डिजिटल रूपान्तरणसँग जोड्न सके उल्लेखनीय लाभ लिन सकिने उल्लेख गर्नुभयो । उहाँले विशेष रूपमा साइबर सुरक्षा, डाटा सुरक्षा, क्लाउड नीति तथा कृत्रिम बौद्धिकता (एआई) लाई नेपालको डिजिटल भविष्यका प्रमुख आधारस्तम्भका रूपमा चित्रण गर्दै यी क्षेत्रमा समयमै लगानी र स्पष्ट नीतिनिर्माण नगरे नेपाल डिजिटल प्रतिस्पर्धामा पछि पर्न सक्ने सङ्केत गर्नुभयो ।
उक्त भेटवार्ताका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले एडिबीले नेपाललाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले विकास आयोजनाहरूलाई छिटो, प्रभावकारी र नतिजामुखी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विगतमा सूचना प्रविधि पूर्वाधार विकासमा देखिएका समस्याहरूलाई स्वीकार्दै अब सरकारले विगतभन्दा फरक ढङ्गले काम गर्ने स्पष्ट पार्नुभयो ।
पूर्वाधार निर्माण र नागरिक सेवा प्रवाह सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विगतका सरकारको भन्दा अहिले कामको गति बढ्न थालेको र नतिजा देखिन थालेको बताउनुभयो । डिजिटल पूर्वाधार विकासलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सरकार यस क्षेत्रमा ठोस सुधार र लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । साथै यसमा एडिबीको निरन्तर सहकार्य रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारका रूपमा मात्र नभई समग्र शासन प्रणाली सुधार, सेवा प्रवाहको सहजता र पारदर्शिता अभिवृद्धिको माध्यमका रूपमा लिइने पनि स्पष्ट पार्नुभयो । यसका लागि सरकारी सेवा डिजिटल माध्यमबाट प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्यका साथ नीति सुधार, पूर्वाधार विस्तार र जनशक्ति विकासमा सरकार केन्द्रित हुने उहाँको भनाइ छ ।
नेपालमा लगानीयोग्य वातावरण निर्माणमा सरकार प्रतिबद्ध भएर लागेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो । भेटवार्तामा मन्त्रालयका उच्च पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा एडिबीका अन्य अधिकारीहरूको पनि सहभागिता थियो । रासस