काठमाडौँ, वैशाख ३ गते । नवौँ संस्करणको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते काठमाडौँमा हुने भएको छ ।
बाह्रखरी मिडिया प्रालिले बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा गल्फ प्रतियोगिता तथा आर्थिक परिसंवाद गोकर्ण गल्फ फरेस्ट रिसोर्टमा गर्ने जानकारी दिएको हो ।
प्रतियोगितामा विभिन्न कर्पोरेट क्षेत्रका एक सय स्वदेशी र विदेशी एमेच्योर गल्फरको सहभागिता रहने छ । गल्फको विजेताले सुनको गल्फ बल जित्ने छ ।
यस्तै उपविजेता, महिला, सिनियर (६० वर्षमाथि), जुनियरल, क्लोजेस्ट टु दी पिन, लङ्गेस्ट ड्राइभलगायत विधाका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ‘होल इन वान’ हान्ने खेलाडीले बिवाइडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्ने छ ।
गल्फ प्रतियोगितासँगै विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, इकोनोमिक सिम्पोजियममार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौँ संस्करण आयोजना गरिएको बाह्रखरी मिडियाका अध्यक्ष प्रतिक प्रधानले बताउनुभयो ।
यस कार्यक्रममा गल्फ खेलाडीसहित करिब १२ सय जनाको सहभागिता रहने पनि प्रधानले जानकारी दिनुभयो ।