• १३ फागुन २०८२, बुधबार

मतदान प्रकिया सिकाइँदै

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, फागुन १३ गते । जाजरकोटका गाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलक्षित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । 

सात वटा स्थानीय तहका ७७ वटै वडामा एक/एक जना स्वयंसेवक परिचालन गरिएको छ । यतिबेला हुने निर्वाचनमा मतदाता शिक्षामा डिजिटल सामग्रीको प्रयोगलाई प्राथमिकता दिइएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नवीनकुमार कठायतले नमुना मतदान अभ्यासबाट मतदातालाई मतदान प्रक्रिया सिकाउने काम टोल टोलमा भइरहेको बताउनुभयो । स्वयंसेवकले मोबाइल तथा, सामाजिक सञ्जालका माध्यमबाट मतदाता साक्षरता सामग्री प्रवाह गरी मतदातालाई सही सूचना पु¥याउने लक्ष्य लिइएको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामलाल प्याकुरेलका अनुसार निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । सात वटा स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई अनुगमनकर्ता तोकेको छ । मतदाता शिक्षाका अनुगमनकर्तालाई तालिम दिएको छ । स्थानीय तहमार्फत स्वयंसेवक माग गरिएको थियो । ७७ वटा वडामा मतदाता शिक्षामा खटिने स्वयंसेवकलाई तालिमप्राप्त अनुगमनकर्ताले मतदाता शिक्षासम्बन्धी  तालिम दिएपछि गाउँमा खटिएका हुन् । 

उहाँका अनुसार मतदाता शिक्षाका लागि छुट्टै नमुना मतपत्र रहेका छन् । मतदाता शिक्षामा मतदानको महत्व, सही तरिकाले मतदान, मतपत्र पट्याउने, मतपेटिकामा मत खसाल्ने प्रक्रिया सिकाउने काम भइरहेको उहाँको भनाइ छ । तालिम लिएका स्वयंसेवकले घर घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । गाउँमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन भए नभएको जिल्ला निर्वाचन कार्यालयबाट अनुगमन भएको प्रमुख प्याकुरेलले बताउनुभयो । 

मत बदर हुन नदिन टोल टोलमा स्वयंसेवक परिचालन गरिएको छ । जुनीचाँदे गाउँपालिका–५ मा परिचालित स्वयंसेवकले मतदातालाई जम्मा गरेर मतपत्रमा छाप लगाउन, मतपत्र पट्याउने, मतपेटिकामा मतपत्र खसाल्नेलगायतका व्यावहारिक अभ्याससहित शिक्षा दिइएको उहाँले बताउनुभयो । 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कुल एक लाख तीन हजार ३६३ मतदाता रहेकामा ६५ हजार ३३३ मत खसेकोमध्ये ६१ हजार ६३७ मत सदर, तीन हजार ६९६ मत बदर भएको थियो ।  प्रतिनिधि सभा समानुपातिकतर्फ कुल एक लाख तीन हजार ३६३ रहेकोमा ६५ हजार ६८९ मत खसेकोमध्ये ६० हजार २८३ मत सदर भएको थियो भने पाँच हजार ४०६ मत बदर भएको थियो । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहमा पुरुष ५६ हजार ७०५ र महिला ५० हजार ३८४, अन्य दुई जना गरी कुल एक लाख सात हजार ९१ मतदाता रहेका छन् ।