• १२ फागुन २०८२, मङ्गलबार

पर्दामा यौनकर्मीको आवाज बन्ने रोश्नीको प्रयास

blog

अभिनेत्री रोश्नी कार्की ।

काठमाडौँ, फागुन १२ गते । फागुन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’ की शीर्ष अभिनेत्री रोश्नी कार्कीले आफ्नो भूमिकालाई जीवन्त बनाउन १० जना यौनकर्मीसँग भेटेर अनुभव साटेको बताउनुभएको छ । चलचित्रमा उहाँले ‘लालिमा’ नामक यौनकर्मीको चुनौतीपूर्ण चरित्र निर्वाह गर्नुभएको छ ।

रङ्गमञ्च पृष्ठभूमिबाट आउनुभएकी कार्कीले पहिलो पटक यस्तो भूमिका निर्वाह गर्नुभएको हो । पात्रको गहिराइ बुझ्न यौनकर्मीको मानसिकता र जीवनशैली बुझ्नु अनिवार्य ठानेर आफूले तयारी गरेको उहाँले खुलाउनुभयो ।

“मैले व्यक्तिगत रूपमा यौनकर्मीलाई चिनेकी थिइनँ, उहाँहरू आफ्नो पेसा गोप्य राख्न चाहनुहुन्छ,” रोश्नीले भन्नुभयो, “तर सन्दर्भका लागि उहाँहरूलाई भेट्नु मेरो लागि आवश्यक थियो । यो चलचित्र यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित भएकाले नेपाली परिवेशका पात्रको मनोदशा बुझ्न उहाँसँगको कुराकानीले सहयोग पुग्यो ।”

निर्माण टोलीको समन्वयमा कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका १० जना यौनकर्मीसँग कुराकानी भएको अभिनेत्री कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भेटिएका सबैजसो पात्रले आर्थिक समस्याका कारण बाध्य भएर यो पेसामा लागेको बताएका छन् ।

आफूले निर्वाह गरेको भूमिकाले समाजमा लुकेर रहेका ठुलो सङ्ख्याका यौनकर्मीको भोगाइलाई प्रतिनिधित्व गर्ने उहाँको विश्वास छ । उहाँले थप्नुभयो, “कलाकारका रूपमा म उहाँहरूको आवाज बनेकी छु । उहाँहरूका समस्या र मानसिकतालाई पर्दामा उतार्ने प्रयास गरेकी छु, यसबाट मलाई सन्तुष्टि मिलेको छ ।”