काठमाडौँ, वैशाख १० गते । भारतीय चलचित्र अभिनेता रितेश देशमुख अभिनीत तथा निर्देशित चलचित्र ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले चलचित्र भारतसँगै नेपालमा पनि प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्र प्रदर्शनकै दिन विशेष प्रदर्शनी हुने छ । भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीको सहभागिता रहने छ ।
“साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साही छौँ,” वितरक कश्यप नरेन्द्र वेदले भन्नुभयो, “यो केवल एउटा चलचित्रको प्रदर्शन मात्र नभई भारत र नेपालबिचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम पनि हो । दुवै राष्ट्रको वीरताको साझा इतिहास र आध्यात्मिक मूल्यमान्यताले पुस्ताौँदेखि हामीलाई प्रेरित गर्दै आएको छ ।” वितरक वेदले चलचित्रको महत्वलाई ध्यानमा राख्दै हलहरूलाई धेरै सो उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ । मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित चलचित्रमा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारको अभिनय रहेको छ ।
चलचित्रको मुख्य विशेषता भनेको रितेशका कान्छा छोरा राहिल देशमुखले चलचित्रमा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गर्नुभएको हो । जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गर्नुभएको चलचित्र आगामी मे १ (वैशाख १८ गते) देखि नेपालमा प्रदर्शनमा आउने छ । एजेन्सी