• १० वैशाख २०८३, बिहिबार

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

blog

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ स्थानीय तह घोषणा समारोहमा सहभागीहरु । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १० गते  ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ स्थानीय तह घोषणा गरिएको छ । गाउँपालिकाभित्रका कुनै पनि बालबालिका खोपबाट बञ्चित नरहेको र खोपको अवस्था दिगो रहने सुनिश्चित भएपछि बुधवार एक समारोहका बीच पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

सभामा गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नागरिकको स्वास्थ्य र बालबालिकाको सुनौलो भविष्यका लागि यो अभियान कोसेढुङ्गा सावित भएको बताउनुभयो । अध्यक्ष उपाध्यायले भन्नुभयो “हामीले सुस्ता गाउँपालिकाको विकास भन्नाले भौतिक पूर्वाधार मात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ । यो घोषणापत्रमा सीमित रहने कागज मात्र होइन, यो हाम्रा बालबालिकाको स्वास्थ्यप्रति गरिएको गम्भीर प्रतिबद्धता हो । अबको हाम्रो लक्ष्य कुनै पनि बालबालिका खोपको पहुँचबाट टाढा नरहुन् भन्ने नै हो र यसका लागि पालिकाले सधैँ स्रोत र साधनको अभाव हुन दिने छैन।’’

पालिकाअन्तर्गतका सबै वडाहरुमा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुको खोप अवस्थाको सर्वेक्षण र लगत संकलन गरिएको थियो । सो क्रममा सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिमका सबै खोप लगाएको पुष्टि भएपछि यो घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले प्रशासनिक र प्राविधिक दृष्टिकोणबाट यस अभियानको कार्यान्वयन पक्षमा जोड दिनुभयो। उहाँले भन्नुभयो “प्रशासनिक हिसाबले हामीले स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिचालन गरेर घरदैलो र सर्भेक्षणमार्फत तथ्यांक अद्यावधिक गरेका छौँ । यो उपलब्धि हासिल गर्नु जति चुनौतीपूर्ण थियो, यसको दिगोपना कायम राख्नु त्योभन्दा बढी चुनौतीपूर्ण छ । खोपको पहुँचलाई नियमित बनाउन हामीले अब स्वास्थ्य संस्थाको अनुगमनलाई थप कडाइ गर्नेछौँ र हरेक नवजात शिशुको खोप रेकर्डलाई व्यवस्थित बनाउने गरी नीतिगत व्यवस्था गर्नेछौँ ।’’

नेपाल सरकारले लिएको ‘पूर्ण खोप सुनिश्चितता’ को लक्ष्यलाई आत्मसात गर्दै सुस्ता गाउँपालिकाले सो अभियानलाई सफल तुल्याएको हो । यो घोषणा केवल एक प्रक्रिया मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि निरन्तर निगरानी गर्ने र खोपको पहुँचबाट कुनै पनि बालबालिका नछुटुन् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता हो ।