मकवानपुर समाचारदाता
हेटौँडा, कात्तिक १० गते । बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा गत आवको पहिलो तीन महिनाको अनुपातमा कम बजेट खर्च भएको छ ।
बागमती प्रदेश सरकारले चालु आवका लागि विनियोजित कुल बजेटको ६.१९ प्रतिशत मात्र गत असोज मसान्तसम्ममा खर्च गरेको छ । गत आवको पहिलो तीन महिनामा प्रदेश सरकारले विनियोजित कुल बजेटको ६.८८ प्रतिशत खर्च गरेको थियो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको गत असोज मसान्तसम्मको वित्तीय प्रगति विवरण अनुसार चालु आवको गत साउनदेखि असोजसम्म तीन महिनामा कुल बजेटको ६.१९ प्रतिशत अर्थात् चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपियाँ बजेट खर्च भएको छ ।
मन्त्रालयका अधिकृत इन्द्रराज सन्ज्यालका अनुसार गत असारमा प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा यस अवधिमा चालुतर्फ ११.४८ प्रतिशत अर्थात् दुई अर्ब ९९ करोड छ लाख ११ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।
गत आवमा ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट विनियोजन भएको पहिलो तीन महिना असोज मसान्तसम्ममा ६.८८ प्रतिशत अर्थात् चार अर्ब ४४ करोड एक लाख २४ हजार रुपियाँ खर्च भएको थियो । चालु आवमा कुल बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । पुँजीगततर्फको बजेटमा यो अवधिमा २.८७ प्रतिशत अर्थात् एक अर्ब १८ करोड ८५ लाख १४ हजार रुपियाँ खर्च भएको छ । चालु आवमा चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । चालु आवका लागि मन्त्रालय, आयोग र निकायका लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले १९.५५ प्रतिशत, प्रदेश सभा सचिवालयले १७.१९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.३१ प्रतिशत बजेट यो अवधिमा खर्च गरेको छ ।
एक प्रतिशतभन्दा कम बजेट खर्च गर्नेमा संस्कृति तथा पर्यटन मन्त्रालयले ०.८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयको पहिलो तीन महिनाको वित्तीय विवरणमा उल्लेख छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण बजेट कार्यान्वयन प्रभावित भएको बताउनुभयो ।