काठमाडौँ, पुस १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनु भएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उहाँले स्वास्थ्य बिमालाई दिगो बनाउन विज्ञसहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताउनु भयो ।
‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बिमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यान्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा. गौतमले स्वास्थ्य बिमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागि परिरहेको बताउनु भयो ।
मन्त्री गौतमले भन्नु भयो, “स्वास्थ्य बिमा बोर्डमा आबद्ध प्रथम सेवा विन्दुको व्यवस्थापन गर्नु पर्ने छ । बिमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नु पर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछौँ ।”
मन्त्री गौतमका अनुसार स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ ।
यसैगरी मन्त्री गौतमले स्वास्थ्य बिमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताउनु भयो ।
डा.गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबै जना लाग्नु पर्ने र यसलाई थप प्रचार तथा प्रवर्धनको आवश्यकता औँल्याउनु भयो । रासस