सियोल, पुस १४ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले सोमबार देशको परम्परागत राष्ट्रपति दरबार चेओङ वा डे (ब्लु हाउस) भ्रमण गर्नु भएको छ । यो उहाँले जुनमा पदभार सम्हालेपछि पहिलो पटक उक्त दरबार पुग्नु भएको अवसर हो ।
यसअघि अपदस्थ पूर्वराष्ट्रपति युन सुक येओलले राष्ट्रपति कार्यालय रक्षा मन्त्रालयको परिसरमा सारेर तीन वर्षभन्दा बढी समय चेओङ वा डे प्रयोगमा ल्याउनु भएको थिएन । पूर्वराष्ट्रपति मुन जे-इनको कार्यकालको अन्तिम दिन सन् २०२२ मे ९ पछि कुनै पनि राष्ट्रपतिले चेओङ वा डे भ्रमण गर्नु भएको यो पहिलो पटक हो ।
युन सुक येओलले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रक्षा मन्त्रालयको भवनलाई राष्ट्रपति कार्यालयका रूपमा रूपान्तरण गरेर त्यहीँबाट काम सुरु गर्नु भएको थियो । डिसेम्बर २०२४ मा संक्षिप्त मार्शल ल घोषणापछि युन सुक येओल पदबाट हटाइएपछि जुनमा भएको आकस्मिक राष्ट्रपति निर्वाचन जित्नुभएका राष्ट्रपति लीले चेओङ वा डेमा राष्ट्रपति कार्यालय फिर्ता सार्ने तयारीलाई प्राथमिकतामा राख्दै आउनुभएको छ ।
यसलाई उहाँले अहिले जेलमा रहेका आफ्ना पूर्ववर्तीको राजनीतिक विरासतबाट अलग हुने प्रयासका रूपमा समेत हेरिएको छ । उत्तरी सियोलको पहाडको फेदीमा अवस्थित चेओङ वा डे ऐतिहासिक ग्योङबोक्गुङ दरबारको पछाडि करिब दुई लाख ५० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । दोस्रो विश्वयुद्धपछि जापानी औपनिवेशिक शासनको अन्त्यसँगै स्थापना भएको दक्षिण कोरियाली सरकारदेखि नै यो परिसर दशकौँसम्म नवीकरण हुँदै मुख्यतया राष्ट्रपति कार्यालयकै रूपमा प्रयोग हुँदै आएको छ ।
पूर्वराष्ट्रपति युनले चेओङ वा डे पहाडको छेउमा रहेकाले जनताबाट टाढा भएको तर्क गर्दै सुरक्षा र खर्चको चिन्तालाई खारेज गर्नु भएको थियो । उहाँले यस कदमले राष्ट्रपतिलाई अझ लोकतान्त्रिक बनाउने दाबी गर्दै मध्य सियोलको योङ्गसनस्थित रक्षा मन्त्रालय परिसरमा राष्ट्रपति कार्यालय सार्न करिब चार करोड अमेरिकी डलर खर्च गरिएको बताइएको छ ।
स्थानान्तरणपछि युनले चेओङ वा डेका केही भाग सर्वसाधारणका लागि पर्यटकीय स्थलका रूपमा खुला गर्नु भएको थियो, जसले लाखौँ आगन्तुक तानेको थियो । तर कट्टर रूढीवादी मानिनुभएका युनले सन् २०२४ डिसेम्बर ३ मा राष्ट्रपति लीको लिबरल डेमोक्रेटिक पार्टीसँगको राजनीतिक गतिरोधका बीच मार्शल ल घोषणा गर्नु भएको थियो, जसलाई दशकौँयताकै गहिरो लोकतान्त्रिक सङ्कटका रूपमा लिइयो । सो कदमले व्यवस्थापिकालाई अस्थायीरूपमा नियन्त्रणमा लिएको थियो ।
सांसदले सैन्य नाकाबन्दी तोडेर मार्शल ल हटाउने प्रस्ताव पारित गरेपछि केही घण्टामै त्यो व्यवस्था अन्त्य भयो । त्यसै महिनाको अन्त्यमा युनमाथि महाभियोग लगाइयो, अप्रिलमा संवैधानिक अदालतले पदबाट हटायो र जुलाईमा उहाँ पुनः पक्राउ पर्नुभयो । हाल उहाँ विद्रोहसहितका गम्भीर आपराधिक अभियोगको सामना गरिरहनु भएको छ, जसमा आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ ।
राष्ट्रपति लीको भ्रमणअघि अधिकारीहरूले मध्यरातमा चेओङ वा डेमा दुई वटा फिनिक्स अङ्कित राष्ट्रपतिको झण्डा फहराएका थिए, जसले उक्त दरबार पुनः आधिकारिक राष्ट्रपति कार्यालयको रूपमा फर्किएको सङ्केत दिएको छ । नजिकै भेला भएका दर्जनौँ समर्थकले दक्षिण कोरियाली झण्डा फहराउँदै राष्ट्रपति लीको नामका नारा लगाएका थिए । मोटर गाडी मुख्य गेटबाट प्रवेश गर्दा सुरक्षा गार्डले सम्मान प्रकट गरेका थिए ।
राष्ट्रपति कार्यालयले पछि चेओङ वा डेभित्रको एक कोठामा राष्ट्रपति लीले वरिष्ठ सहयोगीसँग चिया बैठक गर्नु भएको भिडियो सार्वजनिक गरेको छ । राष्ट्रपति ली हाल सियोलको अर्को भागमा रहेको वर्तमान निवासबाट काम गरिरहनु भएको छ र चेओङ वा डेमा पूर्णरूपमा स्थानान्तरण हुने मिति भने अझै तोकिएको छैन । रासस/एपी