• ९ कात्तिक २०८२, आइतबार

लेक लागेर तीन जनाको मृत्यु

blog

मनाङको नार्पाभूमि गाउँपालिका। तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक ९ गते। हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो। उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। 

मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन्। पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, केरेला होटलमा बास बस्नुभएको थियो। उहाँको सोही होटलमा मृत्यु भएको हो।  आइतबार बिहान उहाँको शवलाई हेलिकाेप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौँ पठाइएको छ।

यसैगरी, शनिबार नै  मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो। लेक लागेर  बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो। 

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस हुनुभएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमान्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो। डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४, याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो।