• ७ मंसिर २०८१, शुक्रबार

चकचके जोशी बन्धनमुक्त : जब ‘माँ’ भनेर चिच्याएपछि....

blog

काठमाडौँ, असोज ३० गते । 


यो पनि पढ्नुहोस

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

प्रेरणाका पुञ्ज शताब्दी पुरुष

‘के खायो रेलिमै के लायो होला 

मेरो माया रेलिमै वनको जुरेली चरीले ।’

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनयात्रा पनि जुरेली चरीको जस्तै छ । यही सिद्धान्तलाई अँगालेर वाङ्मय शताब्दीपुरुष जोशीले २०७९ वैशाख ३० गते १०३ वर्षे यात्रा पूरा गर्नुभएको थियो । 

अब उहाँको पार्थिव शरीर मात्रै हामीबीच छ । २०७९ असोज ३० गते बिहान १०३ वर्षको उमेरमा उहाँको स्वर्गारोहण भएको छ । जीवनमा उहाँको गुरु भनेकै जुरेली हो । जुरेली जस्तै उहाँको पनि सारा जीवन साधा नै रह्यो । कुनै किसिमको उत्ताउलो छैन । जुरेली आफ्नै धुनमा नाच्छ, गाउँछ, एकदमै सरल जीवन बाँचेको हुन्छ । भोलिको चिन्ता पनि गर्दैन । जे जति छ त्यसैमा सन्तुष्ट हुन्छ । 

जीवनमा चिन्ताबाट मुक्त हुनुपर्छ तर चिन्तन मनन गर्नुपर्छ भन्ने व्यक्ति हो जोशी । जस्तै नाइटिङगेलको सिद्धान्त छ ‘सिम्पल लिभिङ हाई थिङकिङ’ अर्थात् हामी मानिस भएर असल विचार र असल सङ्गत गर्नुपर्छ । चिन्तन मनन ईश्वरले दिएको वरदान हो । बुढेसकाल पनि जानियो भने धेरै राम्रो र जानिएन भने दुःख मात्रै हुन्छ । 

जोशीको विचारमा मानिस रुख र फूलको बोटजस्तै हो । सानैमा रोप्यो भने बुढोपनले छुँदै सुक्दै जान्छ । उमेर पुग्दै गएपछि सबै थोक कमजोर हुँदै जान्छ । त्यसैले जीवनमा चिन्तन र मनन गर्न सकिएसम्म मात्र जीवनको महत्त्व हुने जोशीको विचार छ ।  

मनमा चिन्ता र तनाव हुनुहुँदैन, यसले मनमा दुबिधा र तर्क वितर्क उत्पन्न गर्छ । अनेक किसिमको रोग निम्त्याउँछ । मन शान्त हुँदैन । लामो आयु भएर काम छैन । जीवनमा केही गर्न सकियो भने मात्र उमेरको महत्त्व हुन्छ । राष्ट्र, जनता र समाजको निम्ति केही राम्रो योगदान गर्न सक्नुपर्छ । खाने र बाँच्ने मात्र भयो भने जीवनको अर्थ हुँदैन, शताब्दी पुरुष जोशी यस्तै भनाइ राख्नुहुन्थ्यो । 

जोशीको जन्म

सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको हो । सानामा उहाँ निकै चकचके हुनुहुन्थ्यो रे । उहाँलाई घरमा नै बाँधेर राखिन्थ्यो । तर त्यतिखेर उहाँ बोल्न सक्नु हान्नहुन्थ्यो । उहाँका कुरा बुबा आमाले इसारामा बुझ्नुहुन्थ्यो । 

पाँच वर्षसम्म पनि बोली नफुटेकाले उहाँलाई भक्तपुरको सूर्यविनायकको जङ्गलमा छाडिएको थियो । त्यस बेला जङ्गलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ !’ भनेर चिच्याउनुभएको थियो ।

जोशीले सात वर्षको उमेरमा नेवार भाषाको प्रथम अक्षर लेख्नुभयो । १० वर्ष पुगेपछि उहाँले नेपाली भाषा बोल्न सुरु गर्नुभएको हो । तर नेपाली भाषा भने उहाँको प्रस्ट थिएन । त्यसैले उहाँ नेवारी मात्र बोल्नुहुन्थ्यो ।

जोशीको बिहे र सन्तान 

जोशीले १९ वर्षको हुँदा गणेशबहादुर पात्रबंसकी १४ वर्षकी छोरी राधादेवीसँग विवाह गर्नुभएको थियो । जोशी दम्पतीबाट ३ छोरा अणुराज जोशी, हेमन्तराज जोशी, पूर्णराज जोशी अनि ३ छोरी कावेरी जोशी, गंगा जोशी मूल्मी, खड्गलक्षमी जोशी श्रेष्ठ हुनुहुन्छ ।

जोशीको जीवनशैली 

जोशी सादा जीवन उच्च विचारका व्यक्ति हुनुहुन्थ्यो । एक डेढ घण्टासम्मको पैदल बाटोमा उहाँ सकेसम्म बस वा कुनै पनि सवारीसाधन चढ्नुहुन्नथ्यो । उहाँ सधैँ दौरा सुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्किनु हुनुहुन्थ्यो, उहाँको पहिचान पनि थियो । 

९० सालको भुइँचालोको सम्झना

विक्रम संवत् १९९० मा भुइँचालो जाँदा जोशी दरबार हाईस्कुलमा पढ्नुहुन्थ्यो  । त्यस घटनाभन्दा अगाडि जोशीले भुइँचालो भन्ने शब्दै सुन्नु नै भएको थिएन रे । 

नेपालमा भुइँचालो शब्दको प्रचलन सुरु भएको नै त्यही सालको भूकम्पपछि मात्रै हो । जनजीवनमा हामीबीच भुइँचालो भन्ने शब्दै थिएन । त्यसैले यसबारे कुनै जानकारी हुने पनि कुरै आएन ।

जोशीको भ्रमण 

जोशी नेपालका प्रायः धेरै भूभाग पुग्नुभएको छ । उहाँले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, सोभियत रुस, न्युजिल्याण्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गर्नुभएको छ ।

जोशीको सबैभन्दा उल्लेखनीय भ्रमण न्युजिल्याण्डको थियो । किनभने न्युजिल्याण्ड पुग्ने जोशी प्रथम नेपाली हुनुहुन्थ्यो । उहाँले विदेशमा पनि दौरा, सुरुवाल, कोट र टोपी लगाएर प्रवेश गर्नुभएको थियो । 

भ्रमणमा केन्द्रित उहाँको २०४९ सालमा एउटा नियात्रा छापियो ‘न्युजिल्याण्डमा पहिलो नेपाली !’

जोशीको भाषा प्रेम 

जोशीले आइए पढ्दादेखि साहित्यमा सृजनात्मक र सङ्गठनात्मक रूपमा आफूलाई जोड्नुभएको थियो । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाउनुभएको थियो । 

जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौँमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा उक्त सम्मेलन ५ दिनसम्म सञ्चालित थियो । जोशी नेपाल भाषा एकाडेमीका चान्सलर पनि हुनुभयो र त्यहाँ पनि उहाँले आफ्नो मातृभाषाको विस्तारका लागि रचनात्मक कामहरू गरिरहनुभयो ।

जोशीको पहिलो पासपोर्ट 

पहिलो पटक जोशीले पासपोर्ट सन् १९५१ तिर लिएको हो कि । ठम्याउन उहाँलाई नै गाह्रो छ । इ–पासपोर्ट आएपछि जोशीको पहिलो पासपोर्ट परराष्ट्रले म्युजियममा राखेको छ । 

बिना पासपोर्ट विदेश भ्रमण

जोशीको पहिलो विदेश भ्रमण त्यो पनि बिना पासपोर्ट उहाँ श्रीलङ्का जानुभएको थियो । उहाँलाई संयुक्त राष्ट्रसङ्घको युएनको फेलोसिप फेला पारेको थियो, श्रीलङ्कामै बसेर काम गर्नुपर्ने थियो उहाँले ।

‘भाइचरल स्ट्याट्स्टिक’ भन्ने विषय थियो अर्थात् अचेलको जनसङ्ख्याले राखेजस्तै जनसङ्ख्यासँग जोडिएको जन्म र मृत्युको अध्ययन गर्ने विषय ।’

नेपालबाट जाने सबै व्यवस्था मिलेको थियो तर पासपोर्ट थिएन । त्यो बेला नेपालमा पासपोर्ट खुलेको थिएन । तर जसरी पनि जानु नै पर्ने । नेपालबाट ‘टु हुम इट मे कन्सर्न’ को निवेदन लिएर पासपोर्ट बिनै उहाँ श्रीलङ्का जानुभएको थियो । 

नेपालको ई–पासपोर्ट पाउने पहिलो व्यक्ति 

नेपालको पहिलो इ–पासपोर्ट उमेर र उहाँको कामको आधारमा दिइएको हो । जोशी जतिको उमेरसम्म बाँचेका मानिस छैनन् । साहित्यकार, कलाकारहरू त झन् पुगेकै छैनन् । 

जो पुग्यो ५० पिएचडीमा बरखास्त, जो पुग्यो ६० हातमा लाठी, जो पुग्यो ७० हिँड्दा खेरी लत्तरी, जो पुग्यो ८० कुनामा बसी, जो पुग्यो ९० हब्बे न कब्बे, अनि जो पुग्यो सय यमराजको भय ।’ बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकको यो अंश जोशीलाई खुबै मन पर्छ । 

जोशीका कृति 

शताब्दी पुरुष डा.सत्यमोहन जोशीकृत ७१ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उहाँले नेपाली सजिलो वर्णमालादेखि ‘कीर्तिबाबुको स्मृति’सम्म नाउँका कृति लेख्नुभएको छ । 

उहाँका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् । साथै उहाँले अङ्ग्रेजी भाषामा पनि एउटा कृति लेख्नुभएको छ । उहाँका कृतिहरू निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा तथा कोशमा आधारित छन् ।

शरीर दान

जन्मेपछि मृत्यु अवश्यम्भावी छ । आएपछि जानुपर्छ । यो प्राकृतिक विधान हो । आ–आफ्ना धर्म–संस्कृतिअनुसार मानिसले जन्मेदेखि मृत्युसम्म विधि विधानलाई पछ्याउँदै आइरहेका छन् । 

जन्मदेखि मृत्युसम्मका निश्चित संस्कारले हामी बाँधिएका छौँ । नेवारको छोरो, नेवार कुल–परम्परामा जन्मेको मानिसले आफ्नो संस्कार छाड्ने कुरा नै नहुने जोशीको सोच छ । जोशीलाई यो देश जति प्यारो छ, त्यत्ति नै संस्कार र संस्कृति पनि प्यारो छ । 

आफ्नो शरीरको उपयोगिता मृत्युपछि पनि रहेको जोशी महसुस गर्नुहुन्छ । जोशीको शरीर सुरक्षित राखेर अध्ययनका लागि उपयोगी हुनसक्छ भने मृत्युपर्यन्त सुम्पन जोशी तयार रहेको गिरीश गिरीको सत्यमोहन जोशी किताबमा उल्लेख गरिएको छ । 

साथै जोशीका जीवन सङ्गिनीले समेत मृत्युपर्यन्त मेरै मार्ग अपनाउने चाहना प्रकट गर्दै बाँचुन्जेल मात्र होइन, मृत्युपछि पनि जोशीसँगै रहने इच्छा राख्नुभएको छ । यसरी श्रीमतीको शरीर पनि उक्त मोडिकल कलेजलाई नै दिने इच्छा उहाँहरू दुवैले राख्नुभएको हो । 

सत्यमोहन जोशीसँग सम्वन्धित लेखहरु:

1 . बिना पासपोर्ट सत्यमोहन जोशीको पहिलो विदेश यात्रा

2. सबैका सत्यमोहन 

3. पाल्पामा ७५ वर्षअघि प्लेग फैलदा 'लकडाउन' भएको थियो

4. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

5. सत्यमोहनको दीर्घायु सूत्र : भोलिको चिन्ता नगर

6. ‘क्यानभासमा सत्यमोहन बा’

7.  आशीर्वाद दिन्न, ज्ञान दिन्छु : सत्यमोहन