विश्वमा समाजिक सञ्जाल सबै व्यक्तिको जीवनको अभिन्न अङ्ग बनेको छ । ढुङ्गे युगदेखि चिठीपत्र, फोनकल हुँदै आजको ‘फेस टु फेस’ संसारसम्म आउन सामाजिक सञ्जालकै भूमिका मुख्य छ । बालकदेखि वृद्धसम्म सबैले कुनै न कुनै रूपमा कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्दै आइरहेका छन् । विभिन्न किसिमका सूचना, संवाद, चित्र, भिडियो तथा फाइल एकआपसमा साझा गर्न मिल्ने र सोही प्लेटफर्मको प्रयोगद्वारा अडियो हुँदै ‘फेस टु फेस’ सम्म आफ्ना सूचनाहरूलाई अन्तर्क्रियात्मक रूपमा एकअर्कामा साझा गर्न सकिने माध्यम नै सामाजिक सञ्जाल हुन् । जहाँ दुरीबाट टाढा भइकन पनि एउटै बन्धनभित्र रहे जस्तो महसुस गर्न सकिन्छ ।
एक रिपोर्टका अनुसार विश्व जनसङ्ख्याको करिब ४० प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ । ‘हुटसुइट’ र ‘वि आर सोसल’ ले संयुक्त रूपमा तयार पारेको ‘दि नेक्स्ट् वेभ’ नामक अनलाइनले प्रकाशित गरेको सो रिपोर्टले हालको विश्व जनसङ्ख्या ७.५२४ विलियनमध्ये ३.०२८ विलियनले सामाजिक सञ्जालको प्रयोग गर्ने जनाएको छ । त्यस्तै सामाजिक सञ्जालमा सबैभन्दा धेरै सक्रिय मासिक प्रयोगकर्ता हुनेमा फेसबुकको करिब २.०४७ विलियन, युट्युबको १.५० विलियन, ह्वाट्स्यापको र फेसबुक म्यासेन्जरको १.२० विलियन सङ्ख्या रहेको छ । हालको अवस्थामा सामाजिक सञ्जालको प्रयोगले मानिसको जीवनलाई सहज र उन्नतितर्फ दोहो¥याइ पनि रहेको छ भने अर्कोतर्फ सामाजिक सञ्जालले नै मानिसको जीवनलाई तहसनहस पनि बनाइरहेको छ । अनलाइन स्रोतहरूमा आधारित भएर निकालिएको रिपोर्टमा नेपालको कुल जनसङ्ख्याको करिब ५० प्रतिशत जनसङ्ख्याले कुनै न कुनै रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ । यो सङ्ख्या केही बढी पनि हुन सक्छ ।
सकारात्मक प्रभाव
सामाजिक सञ्जालको प्रयोगले पहिलो कुरा त सूचना आदानप्रदान गर्ने तथ्याङ्क, आवश्यक कागजात, डकुमेन्ट आदानप्रदान गर्ने साथै भिडियो तथा अडियोको माध्यमबाट आफ्ना विचार, सिमा र कलालाई विश्वभरि फैलाउने, आफ्नो व्यापार उद्योग व्यवसायलाई सामाजिक सञ्जालमार्फत सबैसामु पु¥याउने र प्रवर्धन गर्ने जस्ता कुरा सजिलै हुन सक्छन् । नचिनेको मानिसहरू एकआपसमा चिनिन सक्ने, सम्बन्ध गाँसिन सक्ने र सहज रूपमा क्रियाकलाप गर्न सकिनेसम्मको स्थिति सिर्जना हुने हुन्छ । कसैलाई ज्ञानको खोजीको लागि पनि सामाजिक सञ्जाल भरपर्दो माध्यम बन्न सक्छ तर स्रोत आधिकारिक हुनु पर्छ । सामाजिक सञ्जालको प्रयोगद्वारा विभिन्न गाउँ ठाउँमा र दुर्गममा रहेका व्यक्तिले सञ्जालमै देखिएका सिपको नक्कल गरेर आफू पनि त्यस्तै पेसा व्यवसायलाई अँगालेर पेसा व्यवसायबाट आफूलाई स्वावलम्बी पनि बनाएका उदाहरण प्रशस्त छन् । आर्थिक रूपमा कमजोर मानिसले आफ्नै घर ठाउँमा बसेर सञ्जालको प्रयोग गरी संसारका कुनाकुनाहरूमा भइरहेका विभिन्न गतिविधि नियाल्ने, विभिन्न ठाउँको बारेमा जानकारी लिने साथै आजकल समाजमा व्याप्त रहेको डिजिटल टुरको अवधारणाको व्यापक प्रयोग गरी पैसा र समयको अधिक बचत गर्न सक्छन् । सामान्यभन्दा सामान्य काम जस्तै घरको बिजुली पानीको बिल तिर्ने, बस, प्लेनको टिकट काट्ने, होटेल बुक गर्ने, हस्पिटलमा टिकट लिने जस्ता कामहरू लाइन लाग्ने झन्झटबिना छोटो समयमै घरमै बसेर गर्न सकिने भएको छ । आजकल सञ्जालको उपयोग गरेर नचिनेका व्यक्तिहरूको समेत ग्रुप निर्माण गरी विभिन्न कार्यक्रम आयोजना गर्ने, अनलाइनमै अन्तव्रिर्mया सञ्चालन गर्ने, कुनै आन्दोलन गर्न छोटो समयमा एजेन्डा मिति, समय र स्थान जस्ता कुरा तयारी गर्ने र ती आन्दोलनको माध्यमबाट परिवर्तन हुन नसकेका अवधारणालाई परिवर्तन गर्ने साथै सत्तासमेत परिवर्तन हुनेसम्मका क्रान्तिकारी कदम सञ्जालकै माध्यमबाट हुने गर्छन् ।
नकारात्मक प्रभाव
सामाजिक सञ्जालको कारणले गर्दा सबैभन्दा ठुलो नकारात्मक प्रभाव युवामा परेको देखिन्छ । सबैभन्दा महìवपूर्ण कुरा त यसले युवाको सिर्जनशील समयलाई बर्बाद पारेको छ । चाहिनेभन्दा नचाहिने विषयवस्तुमा धेरै समय खर्च गर्ने, गलत तथ्याङ्क हेर्ने सुन्ने र त्यही भ्रममा परी त्यही गलत तथ्याङ्क र समाचारलाई सेयर, लाइक र कमेन्टसम्म गर्ने गर्दा अरू थप प्रयोगकर्तालाई समेत गलत कुरा सही हो भन्ने भ्रम पर्ने हुन्छ । भ्युज धेरै बटुल्नका लागि लाइक, कमेन्ट र सेयरको लोभले गलतभन्दा गलत र समाजमा अपाच्य हुने किसिमका कन्टेन्ट पनि सामाजिक सञ्जालमा प्रशस्त रूपमा भेटिने गरेका छन् । डिजिटल फ्रड, ब्ल्याकमेलिङ र ठगी जस्ता कुराहरू पनि देखिन्छन् भने अर्कोतर्फ सामाजिक सञ्जालमा हुने अन्तर्क्रिया, राखिने विचार र कमेन्टको कारणले एकअर्कामा विवाद, दुस्मनी सिर्जना साथै सम्बन्धमा खटपट, द्वन्द्व र कतिपय अवस्थामा हत्या र ग्लानीको कारणले आत्महत्या समेत निम्तिने गरेको छ । सामाजिक सञ्जालका कन्टेन्ट हेरेर त्यस्तै किसिमका कन्टेन्ट बनाउने लोभमा कतिपयको ज्यानसम्म जाने गरेको समाचार हामीले दिनहुँ जसो सुन्ने गरेका छौँ । कुनै कन्टेन्ट वा समाचारको बाहिरी शीर्षक एउटा र भित्री कन्टेन्ट अर्कै पनि हुनुले धेरै हदसम्म सामाजिक सञ्जालप्रति प्रयोगकर्ताको धारणा नकारात्मक बन्दै गइरहेको छ ।
सामाजिक सञ्जालले विशेष गरी पारिवारिक सम्बन्धमा अहिले खटपट निम्त्याएको छ । बाहिर विदेशमा बस्ने र नेपालमा बस्ने परिवारबिच सहज सम्बन्ध हुन सकेको छैन भने बनेको सम्बन्धलाई पनि सञ्जालकै कारणले टाढा बनाउनेसम्मको स्थिति सिर्जना भएको छ । घरपरिवारमा प्रत्यक्ष अन्तर्क्रिया कम हुने, कुनै परिवारका सदस्य कुनै न कुनै रूपमा मोबाइल वा कम्प्युटरमा झुम्मिने हुनाले पारिवारिक साथै सामाजिक सद्भाव र माया सम्मान जस्ता कुरा पनि कम हुँदै गइरहेको देख्न सकिन्छ । नक्कली एकाउन्ट सिर्जना गर्ने, नक्कली एकाउन्टबाट सक्कली एकाउन्टलाई धाक धम्की र ठगी जस्ता कुरा हामीले सुनिरहेका छौँ । नक्कली एकाउन्टकै कारणले सञ्जालमा एक किसिमको नकारात्मक वातावरण सिर्जना हुने र त्यसकै आधारमा सामाजिक व्यवहार पनि देखिने हामीले देख्दै आइरहेका छौँ । सामाजिक सञ्जालमा आउने कतिपय सामग्री हेर्नै नसकिने खालका हिंसात्मक, यौनजन्य तथा कोमल हृदयलाई धेरै लामो समयसम्म गहिरो मानसिक प्रभाव पार्नेसम्मका हुन्छन् । कुनै पनि आधिकारिक स्रोत नभएका, उद्देश्य बिनाका फगत समयको बर्बाद गर्ने र कुनै ज्ञानै दिन नसक्ने खालका सामग्री धेरै नै पाउन सकिन्छ ।
इजरायलको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपाल जस्ता ह्यासट्याप प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताले भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । साइब्राको प्रतिवेदन अनुसार आन्दोलनको अवधि (सेप्टेम्बर ६ देखि ९) मा सामाजिक सञ्जाल एक्समा विश्लेषण गरिएका कुल प्रोफाइलमध्ये एक हजार २८८ वटा अर्थात् ३४ प्रतिशत नक्कली वा शङ्कास्पद एकाउन्ट फेला परेका थिए ।
कानुनी कुरा र संरचनागत सुधार
नेपालमा सम्पूर्ण प्रेस र सामाजिक सञ्जालको नियमनका लागि प्रेस काउन्सिल ऐन, २०४८ र प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली, २०४९ कार्यान्वयनमा छन् तर यी दुवै कानुनले पनि प्रेस र सामाजिक सञ्जाललाई पूर्ण रूपमा नियमन गर्न सकेका छैनन् । उल्लिखित कानुनलाई प्रतिस्थापन गर्न २०७५ सालमा नयाँ प्रेस काउन्सिल ऐनको मसौदा तयार गरिएको थियो तर संसद्बाट त्यो कानुन पनि पारित हुन सकेन । हाल कार्यान्वयनमा रहेका वा अब बन्ने प्रेस र सञ्जालसँग सम्बन्धित कानुनमा सामाजिक सञ्जालको दर्ता र आचारसंहिता साथै युट्युब र फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालमा बनाइने विभिन्न नामका पेजको आधिकारिकता, आचारसंहिता र यिनीहरूले प्रसारण र प्रकाशन गर्ने सूचना र अडियो भिडियो सामग्री तथा सामग्रीका स्रोतको आधिकारिकता र जाँचबुझसमेत जस्ता कुरालाई मध्यनजर गर्दै कानुन निर्माण गर्न सकियो भने हाल सामाजिक सञ्जालमा रहिआएको विकृति विसङ्गतिलाई ९० प्रतिशत कम गर्न सकिन्छ ।
नेपालमा अहिले मिडिया ट्रायल चर्चामा छ । मिडिया ट्रायल भनेको अदालतको सट्टा मिडियाले नै कसैलाई दोषी/निर्दोष ठहराउने अभ्यास हो । कुनै एक व्यक्तिले एकभन्दा धेरै सामाजिक सञ्जालका नक्कली आइडी/प्रयोगकर्ता बनाई कुनै एउटा सत्य वा असत्य घटनालाई ती बनाइएका धेरै वटा आइडीबाट कि त असत्यलाई सत्य हो भनेर या त सत्यलाई असत्य हो भनेर प्रमाणित गर्न ती फेक आइडीको प्रयोग गरी लाइक, कमेन्ट र सेयर गरी धेरै जनाको ध्यान आकर्षण गरी प्रभाव पार्न सफल हुने हुन्छ । यस्तो अवस्थाले वास्तविक सत्य र तथ्यलाई बङ्ग्याउने साथै भिडतन्त्रको जयजयकार गर्ने परम्पराको विकास हुने छ । यसले निश्चित रूपमै मिडिया र सामाजिक सञ्जालमाथि निकट भविष्यमै धावा बोल्ने देखिन्छ । त्यसैले यसलाई पनि संस्थागत संरचनाको निर्माण गरी समयमा नै नियमन गर्नुपर्ने देखिन्छ ।
जिम्मेवार प्रयोग
एक जना मानिसको जिम्मेवार सामाजिक सञ्जालको प्रयोगले मात्र संसारभरिको सामाजिक सञ्जालको जिम्मेवार प्रयोग हुन सक्दैन तर सबै जनाले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग ग¥यो भने यो पक्कै पनि सम्भव हुने छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले मुख्य रूपमा कुन सञ्जाल प्रयोग गर्दै छु ? कुन कन्टेन्ट, समाचार विचार वा अडियो सुन्दै छु र हेर्दै छु ? जस्ता कुरामा सजग हुनु पर्छ किनभने सञ्जालमा पाइने सबै सामग्री आधिकारिक स्रोतबाट आएका हुँदैनन् कुनै कुनै त फगत समयको नास मात्र गर्ने खालका सामग्री प्रशस्तै पाइन्छन् । यस्ता खालका सामग्रीबाट टाढै रहने, आफूलाई कुन चिज आवश्यक परेको हो त्यो कुरामा बढी फोकस हुने, आफूले कति समय सामाजिक सञ्जालको प्रयोग गर्ने ? कुन कुन सामाजिक सञ्जाल प्रयोग गर्ने ? भन्ने कुराको निक्र्योल गर्नु मुख्य हो । अहिलेको अवस्थालाई नजिकबाट नियाल्दा सामाजिक सञ्जालले आफूलाई होइन आफूले सामाजिक सञ्जाललाई चलाउने गरी माइन्डसेट तयार गर्नु आवश्यक छ ।
कुनै सरकारी स्रोतबाट प्राप्त हुने डेटा, सूचना र आधिकारिकताका लागि सामाजिक सञ्जालको प्रयोग नगरी आधिकारिक वेबसाइटहरूको प्रयोग गर्नु उत्तम हुन्छ । यसले समयको पनि बचत हुन्छ । सामाजिक सञ्जालमा आउने कन्टेन्ट एल्गोरिदममा आधारित हुन्छन् । हामीले जस्तो खालका कन्टेन्ट हेर्दै जान्छौँ, जस्ता खालका विज्ञापन हेर्दै जान्छौँ, त्यस्तै खालका कन्टेन्ट हाम्रो स्क्रिनमा आइ नै रहन्छन् । आवश्यक पर्ने मात्र सामग्री आवश्यक मात्रामा हे¥यौँ र सुन्यौँ भने हामीलाई नै आवश्यक पर्ने सामग्री सामाजिक सञ्जालमा आउने छन् । सामाजिक सञ्जालमा पोस्ट भएका सबै कुरा सत्य हुँदैनन् । त्यसैले सेयर, कपी पोस्ट र लाइक गर्नुभन्दा अगाडि सोचेर गर्नु उत्तम हुन्छ । कतिपय मानिस सामाजिक सञ्जालमा अरूलाई भ्रम छर्नकै लागि सक्रिय भएका हुन्छन् । यस्ता प्रयोगकर्ताले आधिकारिक तस्बिर नराख्ने, धेरै कुरा लुकाएका वा हेर्न नमिल्ने बनाएका हुन्छन् । यस्ता प्रयोगकर्ता नक्कली हुने सम्भावना निकै धेरै हुन्छ । यी र यस्ता प्रयोगकर्ताबाट सचेत रहनु जरुरी हुन्छ ।