• २ कात्तिक २०८२, आइतबार

थासो उठाएर सडक सफा राख्ने महतो

blog

सडकबाट हात्तीको थासो उठाउँदै काले महतो ।

वसन्त पराजुली 

नारायणगढ, कात्तिक २ गते । निलो रङको टिसर्ट र सेतो कट्टु लगाएका काले महतोको हातमा सधैँ बेल्चा देखिन्छ । हातको बेल्चाले सडकमा हिँडेका हात्तीले गोब्य्राएको थासो (दिसा) सोहोरेर ठेलामा राख्नुहुन्छ । सौराहाको गैँडाचोकनजिकै थासो उठाउन व्यस्त रहेका महतोले आफ्नो काममा कुनै असजिलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “थासो सफा गर्दा घिन लाग्दैन बरु आनन्द अनुभव हुन्छ । जे भए पनि अहिले सौराहा क्षेत्रमा हात्तीको थासो देख्न पाइँदैन ।”

पूर्वी चितवनको रत्ननगर नगरपालिका बछ्यौली निवासी काले महतो बिहानको ७ बज्दानबज्दै सौराहाका सडकमा निस्किएर थासो सफा गर्न थाल्नुहुन्छ । सडकमा जम्मा भएको थासो सफा गर्ने महतोको दिनचर्या नै हो । यो काम उहाँले दिनको दुई पटक गर्नुहुन्छ । बिहान ७ देखि ९ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म उहाँ थासो सोहोर्न व्यस्त रहनुहुन्छ । सौराहास्थित निकुञ्जको हात्तीसारदेखि गैँडाचोक, हात्तीचोक हुँदै बाघमारा सामुदायिक वनसम्मको उहाँले नियमित थासो सङ्कलन गर्नुहुन्छ । सौराहामा सबैभन्दा बढी हात्ती हिँडडुल गर्ने सडक नै यही हो ।   

“एक पटकमा ५० किलोभन्दा बढी थासो जम्मा हुन्छ । त्यसलाई कसैले घरमा मलका रूपमा प्रयोग गर्न माग्छन् पनि । त्योबेला उनीहरूको घरसम्मै लगिदिन्छु । अघिपछि बाघमारा वनको एकछेउमा थासो फाल्ने ठाउँ बनाइएको छ, त्यहीँ पु¥याउँछु,” उहाँले भन्नुभयो । सौराहामा विशेष गरी पर्यटकलाई जङ्गल सफारीका लागि हात्ती पालिन्छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका हात्ती भने जङ्गल गस्तीमा प्रयोग गर्ने गरिएको छ । यसरी जङ्गल सफारीका क्रममा सौराहाको सडक भएर हिँड्ने हात्तीले गोब्य्राएपछि सडक फोहोर हुने गरेको थियो । 

सौराहाका होटेल व्यवसायी गोकर्ण गिरी सडकमा थासो भइन्जेल भुसुना र झिँगाले दुःख दिने गरेको तर अहिले त्यो समस्या नभएको बताउनुहुन्छ । “हात्तीको दिसा सफा गरिदिएको छ र सौराहा अहिले सौराहा जस्तै सुन्दर देखिएको छ,” गिरीले भन्नुभयो । हात्तीको थासोले भुसुना आउँदा निकै समस्या भएको थियो । कतिपय सडकमा हिँड्दा आँखामा भुसुना परेर समस्या हुन्थ्यो भने सडकछेउमा भएका होटेलमा पनि खानेकुरामा भुसुना र झिँगा बसेर फोहोर बनाइदिन्थे । सडक नियमित सफा हुन थालेपछि त्यो समस्या टरेको छ,” उहाँले सुनाउनुभयो ।

होटेल व्यवसायी सुमन घिमिरेले केही वर्षअघिसम्म जताततै हात्तीको थासोले पर्यटकीय नगरी सौराहा दुर्गन्धित देखिए पनि गरेकोमा अहिले त्यो समस्या हटेको बताउनुभयो । महतोलाई सोही संस्थाले नै सडक सफा गर्न परिचालन गरेको हो । सोबापत उहाँले न्यूनतम पारिश्रमिक पनि पाउनुहुन्छ । सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा महतोको पारिश्रमिकभन्दा पनि कामप्रतिको लगाव महत्वपूर्ण भएको बताउनुहुन्छ । सौराहामा अहिले २९ वटा निजी क्षेत्रमा र ३३ वटा सरकारी तहमा हात्ती पालिएका छन् । निजी हात्ती पर्यटक घुमाउन प्रयोगमा ल्याइएको छ । सरकारीमध्ये आठ वटा निकुञ्ज गस्तीमा र २५ वटा प्रजननका लागि राखिएका छन् । विशेषतः निकुञ्ज सफारी गर्ने हात्ती नै सडकमा हिँड्ने हुँदा तिनीहरूकै फोहोर सफा गर्नुपर्ने भएको हो । 

थासो कागजको कच्चा पदार्थ

हात्तीको थासो कागज बनाउनका लागि राम्रो कच्चा पदार्थ हो । सौराहामा नै केही वर्षअघिसम्म थासोबाट कागज उत्पादन गरिन्थ्यो । अहिले उक्त उद्योग बन्द भइसकेको छ । सहकारी संस्थाका कर्मचारी मधुसूदन अधिकारी कागज उद्योग किन बन्द भयो भन्ने थाहा नभएको बताउनुहुन्छ । 

लामो समयसम्म सौराहाका हात्तीको उपचार तथा स्याहारसुसारमा लागेका पशुचिकित्सक डा. विजय श्रेष्ठका अनुसार एउटा हात्तीले एक पटकमा १० वटासम्म डल्लो थासो गर्छ । एउटा डल्लो कम्तीमा आधा किलोको हुने भएकाले एकै पटकमा हात्तीले पाँच किलोसम्म थासो निकाल्छ । हात्तीले दिनमा पाँच पटकसम्म दिसा गर्ने भएकाले दैनिक २५ किलो थासो खसाल्ने गर्छ । सौराहामा मात्रै ६२ वटा हात्तीले दिनमै एक हजार ५५० केजी थासो निकाल्ने गरेकोमा उक्त थासो त्यसै खेर गइरहेको छ । श्रेष्ठ भन्नुहुन्छ, “थासोलाई पेलेर कागज बनाउने गरिएकै थियो । यो कार्य किन रोकिएको हो, सम्बन्धित निकायको ध्यान पुगे हुन्थ्यो ।”