भाइबहिनीहरू, ललितपुरको खोकना खाने तेलका लागि प्रख्यात छ । पहिले पहिले तोरी खेती निकै राम्रो हुने भएकाले परापूर्वकालदेखि नै खोकनामा तेल उत्पादन गरिँदै आएको हो । अहिले पनि खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय हो । यहाँ अझै पनि परम्परागत प्रविधिबाट तेल उत्पादन गरिन्छ । बास्ना र स्वादका कारण यहाँको तेल लोकप्रिय बनेको हो । कालिका तेल मिलका सञ्चालक रत्नसिंह डङ्गोलले जिजुबाजेका पालादेखिका तेल पेल्ने मेसिन अहिले पनि प्रयोगमा रहेको बताउनुभयो । उहाँका अनुसार अचेल आधुनिक मेसिनको प्रयोग बढ्न थालेको छ । यसले गर्दा पुरानो प्रविधिबाट तेल उत्पादन बिस्तारै घट्दै गएको छ । तोरी भुटेर र नभुटेर दुई किसिमबाट तेल उत्पादन गरिन्छ । भुटेको र नभुटेको तोरीको तेलको बास्ना र स्वाद फरक हुन्छ । भुटेको तेलको बास्ना कडा हुन्छ ।
तेल लिनका लागि भनेरै अन्य स्थानका मानिस खोकना पुग्ने गर्छन् । खोकना पर्यटकीय स्थल पनि हो । यहाँ स्वदेशीका साथै विदेशी पर्यटक पनि भ्रमणका लागि पुग्ने गरेका छन् । घुम्न गएकाहरूले पनि ख्याति कमाएको यहाँको तेल किनेर लैजाने गरेका छन् । अरू समयभन्दा चाडपर्वको बेलामा यहाँको तेल बढी बिक्री हुने गरेको छ । चाडपर्वमा तेलको माग निकै हुने भएकाले त्यसबेला तेल मिल सञ्चालक निकै व्यस्त हुने गर्छन् । अरू बेला घरका सदस्य मिलेर तेल उत्पादन गर्छन् भने चाडपर्वमा अन्य कामदारलाई पनि काममा लगाउने गरिन्छ । हरेक मिलले दैनिक सरदर २५० देखि तीन सय लिटर तेल उत्पादन गर्ने गरेका छन् । हरेक मिलले दैनिक तीन सयदेखि चार सय केजीसम्म तोरी प्रयोग गर्ने गरेका छन् । तेलको माग बढी भएका बेला दैनिक आठ सयदेखि एक हजार केजीसम्म तोरी प्रयोग गरिन्छ ।
तेलका लागि खोकनाको तोरी पर्याप्त हुँदैन । खोकनामा मानिसको बस्ती विस्तारसँगै तोरी खेती पनि घट्दै गएको छ । नेपालका विभिन्न स्थानका साथै क्यानडा, युक्रेन, अस्ट्रेलिया आदि मुलुकबाट पनि तोरी झिकाइन्छ । नेपाली तोरीको तुलनामा विदेशबाट आयात गरिने तोरी सस्तो मूल्यमा पाइन्छ । विदेशी तोरीबाट तेल पनि बढी निस्किन्छ । नेपालमा उत्पादित तोरीको तेल निकै राम्रो हुने भए पनि चाहिए जति उपलब्ध हुन सक्दैन । त्यसैले विदेशी तोरीलाई नेपाली तोरीसँग मिसाएर तेल उत्पादन गरिन्छ । यहाँको तेल अचेल मानाको चार सय रुपियाँ पर्छ ।
सुरुमा तोरी सफा गरिन्छ । यसपछि मेसिनमा राखेर तोरी फुटाइन्छ । त्यसबाट तोरीको पिठो तयार गरिन्छ । त्यसलाई हाडीमा राखेर भुटिन्छ । त्यसपछि परम्परागत मेसिनमा राखिन्छ र पेलेर तेल निकालिन्छ । परम्परागत मेसिनलाई गण भनिन्छ । त्यहाँबाट तेल निकालिसकेपछि बाँकी रहेको पिठोलाई पुनः आधुनिक मेसिनमा हालिन्छ र थप तेल निकालिन्छ । गणमा जस्तो आधुनिक मेसिनबाट उत्पादन भएको तेल गुणस्तरीय हुँदैन । परम्परागत मेसिन काठ वा छालाको हुन्छ । त्यसमा राखेर दबाब (प्रेसर) दिई तेल निकाल्ने गरिन्छ । खोकनाको तेल बेच्न पहिले पहिले मानिस धादिङ, नुवाकोटसम्म पुग्थे भने अहिले ग्राहक मिलमै आइपुग्छन् । यहाँको तेल काठमाडौँ सहरका पसलहरूमा पनि पाइन्छ ।