• २२ मङ्सिर २०८२, सोमबार

जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिलाई दिगो बनाउने गरी काम गरिरहेको बताउनुभयो ।

आन्दोलनमा उत्रिएका युवाले भ्रष्टाचारको अन्त्य र सुशासनको ग्यारेन्टी खोजेको बताउँदै उहाँले यो दिशामा पनि सरकार गम्भीर भएर लागेको बताउनुभयो । मन्त्री खनालले आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमण राम्रो नभएको टिप्पणी गर्नुभयो । 

“निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो,” उहाँले भन्नुभयो, “निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनु पर्छ ।”  

अर्थमन्त्री खनालले कुनै पनि हिसाबले निर्वाचन सार्नु मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो भन्दै समयमै निर्वाचन गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । 

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक गतिविधि चलायमान बनाउन नेपाल राष्ट्र बैङ्कले विभिन्न नीतिगत परिमार्जन गरेको बताउनुभयो  । “मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाको नाफा बढाउनका लागि सहज बनाएका छौँ,” उहाँले भन्नुभयो, “महानगरमा रहेका धेरै बैङ्कका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ ।”

बैङ्क तथा वित्तीय संस्थाले डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिशीलतालाई विस्तार गर्न राष्ट्र बैङ्कले काम गरिरहेको गभर्नर पौडेलले बताउनुभयो ।

बैङ्क तथा वित्तीय संस्थामा उपलब्ध लगानीयोग्य पुँजी परिचालनका लागि राष्ट्र बैङ्क केन्द्रित रहेको पनि उहाँको भनाइ थियो । यसका लागि लगानीकर्ता तथा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । “हामी आर्थिक नीतिमा बलियो छौँ तर मनोबल कमजोर छ,” उहाँले भन्नुभयो, “कमजोर मनोबललाई उकास्न आवश्यक छ ।”

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केही विदेशी लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहे पनि नेपालमा लगानी नै गर्दैनौँ वा भएको लगानी पनि फिर्ता गर्छौं नभनेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइप लाइनमा रहेका छन् । केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् तर कसैले पनि हात झिक्छौँ भनेका छैनन् ।” 

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले नेपालको अर्थतन्त्र सुधार गर्न सरकार र निजी क्षेत्र सँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताउनुभयो । “जबसम्म सरकार र निजी क्षेत्र सँगसँगै जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन,” उहाँले भन्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज  पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताउनुभयो ।

“आन्तरिक अर्थतन्त्र चापमा छ । बैङ्कमा लगानीयोग्य रकम पर्याप्त छ । ब्याज एकल बिन्दुमा भए पनि समग्र बजारको माग बढ्न सकेको छैन,” उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठुलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो पक्कै पनि होइन ।” त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने उल्लेख गर्नुभयो ।